Logo
Logo

ब्युँतिने भयो पुरानै गठबन्धन, जनमत र लोसपा पनि समेट्ने


5.4k
Shares

काठमाडौं । बालुवाटारमा बसेको चार दलका शीर्ष नेताहरुको बैठकमा निर्वाचनअघिको पाँच दलीय गठबन्धन ब्युँताउने सहमति भएको छ ।

राष्ट्रपति उम्मेदवार छान्न बसेको गठबन्धनको बैठकमा पाँच दलीय गठबन्धन ब्युँताउने सहमति बनेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सो जानकारी दिएका हुन् ।

करिब साढे ३ घण्टासम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकको मूल विषय राष्ट्रपति निर्वाचन नै भएको उनले बताए । उनले भने, ‘अहिले हाम्रो ध्यान राष्ट्रपतिकै विषयमा हो । राष्ट्रपतिमै केन्द्रित भएर कुरा गर्दा अन्य विषयहरु पनि आउँछन्, अहिले केही विषय मिल्न बाँकी छ । आज हामी टुंग्याउँछौँ ।’

राष्ट्रपतिको उम्मेदवारमा कांग्रेससँगै अन्य दहहरुबाट पनि प्रस्ताव आएको थापाले जानकारी दिए । राष्ट्रपतिमा माधव नेपालको पनि प्रस्ताव अगाडि सारेर अफ्ठयारो परेको हो ? भन्ने पत्रकारको प्रश्नमा उनले भने– ‘कांग्रेसले राष्ट्रपतिमा अन्य दलको सहयो चाहियो भनेको छ। अन्य दलहरुबाट पनि प्रस्ताव आएका छन्, फरक फरक प्रस्ताव आए पनि हामी एकै ठाउँ पुग्छौँ भन्ने छौँ ।’

उनले दुईवटा नाममा भन्दा कांग्रेसले प्रस्ताव गरेको र अन्य दलबाट आएको प्रस्तावमा कुरा भइरहेको बताए । उनले भने, ‘दुईवटा नाममा भन्दा पनि कांग्रेसले सारेको प्रस्ताव र कांग्रेसबाहेकको प्रस्तावमा पनि छलफल हुँदैछ । अरुले उठाएको प्रस्तावमा पनि कुरा हुनेछ । हामीले अहिले एकअर्काको कुरा सुन्यौँ, हामी राष्ट्रपति निर्वाचनमा एकै ठाउँ उभिन्छौँ ।’

गठबन्धनमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र लोसपा अध्यक्ष महन्थ ठाकुरलाई पनि समावेश गराउने भएको छ । आजको बैठकमा कांग्रेस, माओवादी, जसपा र नेकपा एसका नेताहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्