Logo
Logo

राष्ट्रपतिमा कांग्रेसलाई ८ दलको समर्थन, अब एमाले के गर्छ ?


9.1k
Shares

काठमाडौं । भावी राष्ट्रपति नेपाली कांग्रेसको हुने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको पुरानो गठबन्धनको बैठकमा राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय भएको हो ।

जारी बैठकले उक्त निर्णय गरेको एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए । उनका अनुसार चुनावअघि गठबन्धनका रहेका पाँच दलसहित जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादीले पनि राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउने भएका छन् ।

उनले भने, ‘आज राष्ट्रपतिको मात्र कुरा भयो । बैठकमा सहभागी सबै दलले कांग्रेसको उम्मेदवारलाई सघाउन हामी ८ दल सहमत भयौं ।’

बैठकमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीबीच छलफल भएको थियो । शनिबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने तालिका छ ।

यससँगै हाल सत्ता गठबन्धनमा रहेको नेकपा एमाले राष्ट्रपति पद पाउनबाट व्यञ्चित भएको छ । यसअघि नेकपा माओवादीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा राष्ट्रपति एमालेलाई दिने सहमति भएको थियो । तर, प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा कांग्रेसलगायतका दलले मत दिएपछि प्रधानमन्त्री राष्ट्रपतिमा राष्ट्रिय सहमित हुनुपर्ने अडान लिँदै आएका थिए । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउनु दावी गर्दै आएका थिए ।

एमाले अब के गर्छ ?
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति निर्वाचनमार्फत चुनावअघिको पुरानो गठबन्धन ब्युँताउने कसरतमा लागेपछि एमालेले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

शुक्रबार पनि एमालेका नेता पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाइएमा एमालेले समर्थन गर्ने बताएका थिए । तर, शुक्रबार नै एमालेका सचिव योगेश भट्टराईले भने राष्ट्रपति नपाएको खण्डमा सरकारबाट बाहिरिने बताएका थिए । उनले भनेका थिए, ‘पुस १० गतेको सहमतिअनुसार राष्ट्रपति एमालेकै हुन्छ । यदि एमालेले राष्ट्रपति पद नपाए सरकारबाट बाहिरिन्छ ।’

एमाले अध्यक्ष ओली पनि शुक्रबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै भनेका थिए, ‘राष्ट्रपतिमा शंकै छैन । पुस १० गते नै राष्ट्रपतिबारे निश्चित भइसकेको छ ।’ अध्यक्ष ओलीको यस भनाइले भने अब एमाले वर्तमान सरकारबाट बाहिरिन सक्ने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्