
पुँजीबजारको विकासबाट नै विभिन्न देशले आर्थिक विकासमा फड्को मारेको प्रशस्त उदाहरणहरु रहेको छ । पुँजीबजार आर्थिक विकासको मुख्य संवाहक भएको हुँदा यसलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा मानिन्छ ।
पूँजीबजारको प्रवद्र्धन बिना आर्थिक विकासको कल्पना गर्न सकिँदैन । पूँजीबजारको विकासको माध्यमबाट समग्र देश विकास सम्भव हुने भएकाले पनि पूँजीबजारका सम्पूर्ण उपकरणहरुमा लगानीकर्ताहरुको ध्यान खिचिँदै गएको छ ।
उच्च आर्थिक वृद्धिबिना मुलुकले चाहेको दिशामा आर्थिक विकास गर्न सक्दैन । आर्थिक विकासका लागि पुँजीबजार अहिलेको विश्व अर्थतन्त्रमा महत्वपूर्ण माध्यम भएको छ, त्यसकारण यसलाई अर्थतन्त्रको ऐनाको रुपमा लिन सकिन्छ ।
आर्थिक विकासको इन्जिनलाई प्रभावकारी बनाउन प्रभावकारी पुँजीबजार आवश्यक छ । नेपाल पुँजीबजारको अभ्यासमा प्रारम्भिक चरणमा भएता पनि विकासको प्रशस्त सम्भावना छ । नीतिगत, संस्थागत र संरचनागत सुधारले यो बजारलाई अग्रता दिन सकिन्छ ।
प्राथमिक बजार निष्कासन तथा दोस्रो बजार कारोबारलाई हेर्ने हो भने हाल नेपालको पुँजीबजार सुदृढ अवस्थामै रहेको देखिए पनि पूर्णरुपमा सन्तोष हुने अवस्था भने छैन । नेपालको अहिलेको पुँजी बजार अस्थिर छ, सेयर किनेपछि धैर्य गर्नेभन्दा पनि बेच्न हतारिने प्रवृत्ति हाबी छ ।
बजारमा वित्तीय र सेयरसम्बन्धी साक्षरताको पनि अभाव छ । सामाजिक सञ्जालको अफवाहको आधारमा लगानीकर्ताहरु चल्ने प्रवृत्ति पनि भयो, कोही व्यक्ति कुनै पदमा रहनु वा नरहनुले पुँजीबजार प्रभावित हुनु हुँदैन ।
पुँजीबजारका केही आधारभूत सिद्धान्त हुन्छन् । त्यसका आधारमा चल्नुपर्छ । तर त्यस्तो हुन सकिरहेको छैन । हाम्रो देशमा व्यक्तिगत लगानीकर्ता धेरै भएका कारण पनि यस्तो अवस्था सिर्जना भएको हो । संस्थागत लगानीकर्ता बढी भएमा यस्तो अवस्था आउँदैन ।
संस्थागत लगानीकर्तालाई प्रोत्साहित गर्नको निम्ति सोअनुसार विकास नीति, रणनीति, कार्यनीतिलगायतका क्षेत्रमा आमूल परिवर्तन गर्नु पर्छ । नीतिगत र प्राविधिकरुपमा पूर्ण योजना तर्जुमा गर्दै अनुकूल हुने खालको वातावरण सिर्जना गर्नको निम्ति सम्बन्धित निकायहरु वा सरकारले पनि पहल कदमी लिन आवश्यक देखिन्छ ।
अहिले हाम्रो बजारमा विशेष गरेर तीन प्रकारका उपकरणको मात्रै उपलब्धता छन् । एउटा सेयर भयो, दोस्रो डिभेन्चर र तेस्रो हो, म्युचुअल फण्ड । पुँजी बजारलाई व्यापक बनाउनको निम्ति कारोबार हुने उपकरणमा यी तीनबाहेक अरु थप बढाउनुपर्ने अवस्था छ ।
धेरै प्रकारका उपकरणहरु आएपछि मात्रै बजार व्यापक हुँदै जान्छ, अर्को कुरा पुँजी बजारको एउटा भाग त हामीले सुरु गरेकै छैनौं । यो भनेको कमोडिटी एक्सचेन्ज मार्केट हो ।
कमोडिटी एक्सचेन्ज मार्केट पनि पुँजी बजारको एउटा अंग हो । त्यसलाई पनि अगाडि बढाउनुपर्ने देखिन्छ । सम्बन्धित नियामक निकायले उपकरणहरु जतिजति थप गर्दै जान्छन्, बजार त्यति नै विकास र परिष्कृत हुँदै जान्छ ।
अब जोखिम न्यूनीकरण र डाइभर्सिफिकेसनको उपकरण विकास गर्नु पर्दछ, त्यसो भयो भने मात्रै बजार सन्तुलनमा आउँछ । धितोपत्र बजारमा प्रोडक्ट थपेपछि जोखिम आफैं व्यवस्थापन हुँदै जान्छ ।
दीर्घकालीनरुपमा पुँजी बजारलाई सवलीकरण र सक्षम बनाउनको निम्ति अब सम्बन्धित नियामक निकायले ‘रियल सेक्टर’का संस्था र कम्पनीलाई सेयर बजारमा ल्याउन प्राथमिकतामा राख्न सक्नु पर्दछ ।
नेपालमा ठूला–ठूला निजी र सरकारी स्वामित्वका कम्पनीहरु छन् । देशको अर्थतन्त्रमा ठूलो टेवा पुर्याएका विभिन्न सार्वजनिक संस्थानहरु जस्तै, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेडलगायतलाई सूचीकृत गर्नुपर्ने सरकारको प्राथमिकता र भिजन हुनुपर्याे । यस्ता प्रकारका कम्पनीलाई सूचीकृत गरेपछि सेयर बजारमा जनताको स्वामित्व बढ्छ ।
सूचीकृत संगठित संस्थाहरूको संख्या सन्तोषजनक नै देखिए पनि बैंक र वित्तीय संस्थाहरूको बाहुल्यले गर्दा दोस्रो बजार कारोबारमा जोखिम व्यवस्थापन गर्न आवश्यक संस्था तथा धितोपत्रको विविधीकरण हुन सकिरहेको छैन ।
नेपाललाई विकासका क्रममा अगाडि बढाउन सम्भाव्य क्षेत्रका रूपमा जलविद्युत्, पूर्वाधार र पर्यटन क्षेत्र प्रमुख हुन् । धितोपत्र बजारमा यो क्षेत्रका संस्थाहरू ज्यादै न्यून मात्रामा रहेका छन् । साथै यस क्षेत्रका संगठित संस्थाहरूलाई कुनै परियोजना थाल्दा धेरै पुँजीको आवश्यक पर्छ र त्यो पुँजी पूरा गर्ने स्रोत पुँजी बजार नै हो ।
हिजोको कागजी युगबाट आज एक क्लिकको भरमा प्राथमिक शेयर बजारमा शेयर आवेदन गर्न सक्ने अवस्था छ । अनलाइनबाटै दोस्रो बजारमा विभिन्न कम्पनीहरुको शेयर खरिद बिक्री सम्भव हुनु नेपालको लागि पूँजी बजारमा छोटो समयमा भएको युगान्तकारी परिवर्तन मान्न सकिन्छ । राजधानीमा मात्र सीमित रहेका ब्रोकर कम्पनीहरू अब राजधानी बाहिरका सहरी क्षेत्रमा पनि विस्तार हुँदै गएका छन् ।
निकट भविष्यमा थपिने प्रदेशस्तरका ब्रोकर कम्पनी र बैंकका सहायक कम्पनीहरूलाई पनि ब्रोकर लाइसेन्स दिने व्यवस्थाले शेयर बजारलाई क्रमशः ग्रामीण भेगसम्म पुर्याउन सक्नेछ भन्नेमा विश्वस्त हुन सकिन्छ । बजारको विस्तारसँगै धेरै लगानीकर्ता प्रवेश गरेका छन् । अहिले बजारमा लगानी गर्न सहज छ । तर यो सहजतासँगै जोखिम पनि उत्तिकै छ ।
पूँजीबजारमा ठूलो आकर्षण छ, यो राम्रो पक्ष हो । तर, यहाँ जोखिमबारे राम्ररी थाहा पाउनुपर्छ, अनि मात्रै लगानी गर्नुपर्छ । समग्रमा आगामी दिनमा सेयर बजारको गति सकारात्मक हुँदै जाने देखिन्छ ।











