काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नरहेको बताएका छन् । शनिबार एमालेको तर्फबाट सुवासा नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि अध्यक्ष ओलीले सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै यस्तो दावी गरेका हुन् ।

उनले आठ दलबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै सहमति नभएको दावी गरे । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको भनाइ छ ।
अध्यक्ष ओलीले भने, ‘हामीले हाम्रो पार्टीको तर्फबाट र खासगरी नेपाली जनताकै तर्फबाट देशभक्त, लोकतान्त्रिक, सुशासन र विकासका पक्षधर शक्तिहरुको तर्फबाट अत्यन्तै अनुभवी, कानुनविद्, लामो समय सभामुख जस्तो गरिमामय पदमा रहेर जिम्मेवारी सम्हालेका माननीय सुवाषचन्द्र नेम्वाङजीलाई आगामी २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको रुपमा उठाएका छौं । र, विधिपूर्वक हामीले यो उम्मेदवार उठाएका छौं ।’
उनले दलीय स्वार्थ नभएर राष्ट्रिय स्वार्थका लागि नेम्वाङलाई उम्मेदवार बनाएको बताए । यसका लागि समग्र नेपाली जनता र सबै तर्फबाट सहयोग पाउनेसमेत ओलीले विश्वास व्यक्त गरे ।
गत पुस १० गतेको सहमतिमा अन्य दलले समेत प्रतिबद्धता जनाउने विश्वास व्यक्त गर्दै अध्यक्ष ओलीले भने, ‘आफ्ना प्रतिबद्धता र बचनवद्धताबाट, आफूले सार्वजनिक गरेका विषयहरुबाट कोही पनि पछि हट्ने खालको काम हुन सक्दैन भन्ने हाम्रो धारणा छ ।’
उनले अगाडि थपे, ‘जुन सहमति छ । र, जुन सम्झौता हामीले गरेका छौं । त्यो पूरा नभई यताउता हुन्छ भन्ने कुरा विश्वास छैन । गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन ।’














