Logo
Logo
कला

‘स्वरले साथ दिएसम्म गाइरहने छु’



गायिका रोशनी रसाइँलीले गायनमा संघर्ष गरेको करिब १३ वर्ष भयो । उनी अहिले पनि आफू संघर्षरत रहेको बताउँछिन् । गीतसंगीतमा साधना अपरिहार्य हुन्छ भन्ने उनको मान्यता छ । गायिका रोशनी भन्छिन्, ‘गायनमै करिअर खोज्जे हो भने मिहिनत पनि उत्तिकै आवश्यक छ । संघर्ष र मिहिनतविना सांगीतिकयात्रा सम्भव हुन्न ।’ बागलुङमा जन्मेहुर्केकी रोशनी स्कुल पढ्दैदेखि गीत गाउन भनेपछि हुरुक्कै हुन्थिन् रे ।

रोशनी रसाइँली/गायिका

स्थानीयस्तरमा हुने सांगीतिक प्रतियोगिताहरुमा सहभागी जनाउँदा जनाउँदै गायनलाई करिअर बनाउने उद्देश्यसहित काठमाडौं छिरेकी रोशनी भन्छिन्, ‘जुनदिन काठमाडौं टेके, त्यही दिनदेखि निरन्तर गायनमै छु ।’ ‘मुटु बिझाउने’ नामक गीति एल्बम ल्याएपछि गायनको औपचारिक यात्रा प्रारम्भ गरेकी रोशनीले हालसम्म तीन दर्जनभन्दा बढी गीत गाइसकेकी छन् । तीमध्ये ‘शेल्फी खिचिन्छ’, ‘तेतिस किलो सुन’, ‘मै राम्री छु रे’जस्ता उनका गीत चर्चित छन् । नेपाली गीतसंगीतमा योगदान पुर्याएवापत विभिन्न अवार्ड र सम्मानहरु समेत प्राप्त गरेकी गायिका रोशनी रसाइँलीसँग दृष्टिको जम्काभेट :

गीतसंगीतको काम कस्तो चलिरहेको छ ?
ठीकै चलिरहेकै छ । अहिले नयाँ एल्बम ल्याउने तयारीमा छु । चाँडै सार्वजनिक गर्ने सोचमा छु ।
एल्बम नै हो कि सिंगल ट्रयाक ?

एल्बम नै हो । हुन त हिजोआज सिंगल ट्रयाकलाई पनि एल्बम नै भन्न थालिएको छ । तर, अब आउने मेरो एल्बममा चाहिँ दुईभन्दा बढी गीत हुन्छ । साथै, सिंगल ट्र्याकमा पनि गर्ने सोच छ ।

तपाइँ बढी लोकदोहोरी गाउनुहुन्छ होइन त ?
म सबै प्रकारका गीत गाउँछु । अलि बढी गाउनेचाहिँ लोक र लोकदोहोरी हो । तर, गाउनु परेमा आधुनिक पनि गाउँछु । गाएको पनि छु ।

तपाइँले गाउनु थाल्नुभएको कति वर्ष भयो ?
सानैदेखि गाउँथें । एल्बम नै निकालेर गाउन थालेको चाहिँ १३ वर्ष भयो । एल्बम ल्याउनुअघि गाउँमा हुँदा विभिन्न स्टेज कार्यक्रमहरुमा गाउँथे । स्थानीय स्तरमा हुने गायन प्रतियोगिताहरु पनि सहभागी हुन्थेँ । मैले गाउँदेखि नै गाउन सुरु गरेकी हुँ ।

त्यसोभए गायनमा संघर्ष गर्न थाल्नुभएको १३ वर्ष भयो ?
हो, अहिले पनि संघर्षरत छु । गीतसंगीतमा मिहिनेत र संघर्ष नगरी सफलता हासिल गर्न सकिँदैन । संगीत साधना पनि हो र संघर्ष पनि । म अहिले पनि साधना गरिरहन्छु ।

तपाइँले गायन थाल्दाखेरी घुम्ने चक्कामा एल्बम निकाल्ने चलन थियो होइन त ?
मेरो पहिलो एल्बम पनि चक्कामै निकालेकी हुँ । त्यसपछि सिडी एल्बमको चलन आयो । अहिले त चक्का र सिडीको नाम निशाना नै हरायो । युट्युबको जमाना आएको छ । त्यसमाथि हिजोआज गीत सुनिँदैन, हेरिन्छ । त्यसैले हिजोआज गीत मात्र गाएर हुँदैन, भिडियो पनि बनाउनु सक्नुपर्छ ।

तपाइँले चक्कामा कति वटा एल्बम निकाल्नुभयो ?
मैले ७/८ वटा एल्बम ल्याएँ । तीमध्ये ५ वटा त चक्कामै थियो । चक्कामा साइड ‘ए’ र ‘बी’ हुन्थ्यो । पहिलो एल्बम ‘मुटु बिझाउने’ राजु परिवारसँग मिलेर निकालेकी थिएँ । ‘ए’ साइडमा राजु र ‘बि’ साइडमा मेरो गीत थियो । त्यो बेला एल्बम पनि राम्रै बिक्री हुन्थ्यो ।

हिजोआज एल्बम निकाल्ने झन्झट छैन । त्यसैले गायक÷गायिकालाई सजिलो छ होइन र ?
त्यो झन्झट त छैन । तैपनि एल्बम निकाल्नेहरुले निकालिरहेका छन् । एल्बम भनेको कलाकारको कृति हो, जो आफू मरेर गएपनि रहन्छ । चर्चामा आउनका लागिचाहिँ सिंगल ट्रयाक गाउनु राम्रो हो । म सिंगल ट्रयाकका गीत पनि गाउँदै आएकी छु ।

तपाइँलाई चिनाउने गीत कुन हो ?
मलाई पहिलो एल्बमको गीतले नै गायिका रोश्नी रसाइँली भनेर चिनाएको हो । ‘मुटु बिझाउने’ एल्बमको ‘काटी पलायो डाली’ गीत त्यो समय निकै रुचाइएको थियो ।

गीतसंगीतमा लागेर अहिलेसम्म के पाउनुभयो ?
दर्शक/श्रोताको माया र नाम । कलाकारको लागि दर्शकको माया, हौसला र नाम नै ठूलो कुरा हो । पैसा कमाउन वा नकमाउनु बेग्लै कुरा ।

गायनमा लागेर पैसाचाहिँ कमाउनुभएको छैन ?
गायनबाटै आफूलाई पु¥याएकी छु । गायनबाहेक मेरो अरु पेसा, व्यवसायी छैन । त्यसैले कमाएँ भनौँ कि के भनौँ ।

गायनबाट सन्तुष्टि हुनुहुन्छ ?
अहिलेसम्म सन्तुष्ट नै छु । आफैंले रोजेको पेसामा आवद्ध छु । साथमा दर्शकको माया र हौसला पाएको छु । त्यसैले खुसी छु ।

गायिका नभएको भए के बन्नु हुन्थ्यो ?
नर्स बन्थेँ होला किनकि स्कुल पढ्दै गर्दा मलाई नर्स बन्ने इच्छा थियो । तर, गायनतिर ढल्किएपछि नर्स बन्न सकिनँ । तर, नर्स बन्न नसकेकामा पछुतो पनि लागेको छैन किनकि यदि नर्स भएको भए अहिले जस्तो दर्शक तथा श्रोताको माया कहाँ पाउँथे र ? गायनमा लागेर ‘गायिका रोश्नी’ भनेर चिनिन पाएकी छु । त्यसैमा म खुसी छु ।

अब कहिलेसम्म गाउने सोच छ ?
गायनलाई नै करिअर बनाएर अगाडि बढेकी हुँ । त्यसैले स्वरले साथ दिएसम्म गाउनेछु । अहिले आएर गायनबाहेक अरु सोच्न सक्दिनँ । यतिका वर्ष गायनमै बिताइसकेँ । त्यसैले गीतसंगीतमै मैले जीवन अर्पण गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्