काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्वाङलाई मतदान गर्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई आग्रह गरेका छन् ।

अध्यक्ष ओली राष्ट्रपतिको नेम्बाङको उम्मेदवारी दर्ता गराएपछि शनिबार पत्र लेख्दै अध्यक्ष नेपाललाई यस्तो आग्रह गरेका हुन् ।
पत्रमा ओलीले अध्यक्ष नेपाललाई सम्बोधन गर्दै आम निर्वाचन २०७९ को नयाँ जनादेशअनुरूपको २०७९ पुस १० गते सरकार गठनका सन्दर्भमा भएको सहमति अनुसार एमालेबाट नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवारमा मनोनयन गरिएको जानकारी गराएका छन् ।
नेपालको संविधानको मर्म र भावनाअनुरूप नेम्वाङ राष्ट्रपति पदलाई अत्यन्त योग्य एवं उपयुक्त उम्मेदवार रहेको बताउँदै राष्ट्रिय नेता नेपालको दलबाट नेम्वाङको पक्षमा मतदानका लागि पूर्ण सहयोग गर्न ओलीले आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले कांग्रेसबाहेक अन्य दलका प्रमुखलाई सम्बोधन गर्दै नेता नेम्वाङलाई राष्ट्रपतिमा निर्वाचित गराउन आग्रह गरेका हुन् ।
मनोनयन दर्ता गर्नुअघि ललितपुरको च्यासलमा बसेको पार्टीको सचिवालयको बैठकले कांग्रेसबाहेक सबै दललाई भोट माग्न पत्र लेख्ने निर्णय गरेको थियो । सोहीअनुसार अध्यक्ष नेपाललाई पत्र लेख्दै नेम्बाङलाई राष्ट्रपति निर्वाचित गराउन आग्रह गरेका हुन् ।















