Logo
Logo

राष्ट्रपतिमा भएको सहमति सिंगो राष्ट्रकै हो : प्रधानमन्त्री


1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिका लागि भएको सहमति ८ दलबीचको मात्र नभएर सिंगो राष्ट्रकै सहमति भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले रामचन्द्र पौडेलले नेपाली राजनीतिमा खेलेको भूमिकाको सम्मान गर्दै राष्ट्रपतिको उम्मेदवार बनाएको बताए ।

शनिबार बालुवाटारमा महेन्द्रनारायण निधिको १०१औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन ।

उनले लामो त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथिको खतरा टरिनसकेको बताउँदै प्रधानमन्त्रीले भने, ‘फागुन ७ गते संविधानले नचिनेका नारा लागे । त्यो गम्भीर कुरा छ । हिजो जसरी संसद विघटन गरियो, संविधानमाथि आक्रमण गरियो । त्यो प्रवृत्ति अन्त्य भइसकेको छैन ।’

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिकै लागि एमाले अध्यक्ष केपी ओलीसँग धेरै प्रयास गरेको समेत बताए । उनले भने, ‘तपाई र म मिलेर राष्ट्रिय सहमतिको राष्ट्रपति प्रस्ताव गरौँ भनेँ, तर सम्भव भएन । संविधान, लोकतान्त्रिक मूल्य र मान्यता नस्वीकार्ने शक्तिहरूसँगको सहकार्य सहज हुँदैन, यही निष्कर्षका साथ फेरि हामी एकठाउँ उभिएका छौँ । हामी प्राकृतिक कोर्समा फर्किएका छौँ । यो नै मुख्य कुरा हो ।’

प्रधानमन्त्री प्रचण्डले विगतमा भएका सहमति र सहकार्यमा नेता पौडेलको भूमिकाको प्रसंसा गर्दै भने, ‘यो उहाँ (रामचन्द्र पौडेलले राजनीतिमा पु¥याएको योगदानको सम्मान पनि हो । उहाँ विगतमा राजनीतिक सहकार्यका लागि गहन भुमिका निर्वाह गर्नुभएको छ ।’

शुक्रबारको भएको सहमतिलाई नयाँ यात्रा सुरुवात बताउँदै उनले हालै तयार भएको नयाँ परिस्थितिसँगै एमाले प्रतिपक्षमा जाने बताए । राप्रपाका मन्त्रीहरूले राजीनामा दिएको र त्यो स्वीकृत हुने पनि उनको भनाइ छ ।

शुक्रबार मात्रै कांग्रेस र माओवादी केन्द्रसहित ८ दलहरूबीच आगामी राष्ट्रपतिका लागि नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति भएको थियो । सोहीअनुरुप कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शनिबार राष्ट्रपतिमा मनोनयन दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्