Logo
Logo

अब मन्त्रिपरिषद पुनर्गठन हुन्छ : प्रधानमन्त्री


6.6k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब नेकपा एमाले पतिपक्षबाहेक कहीँ जान नसक्ने स्थितिमा रहेको बताएका छन् । आठ दलीय सहमतिमा राष्ट्रपति उम्मेदवार चयन भइसकेकाले एमालेले सरकारबाट बाहिरिने सक्ने भन्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारबाट बाहिरिने निर्णय गरेकाले अब मन्त्रिपरिषद पुनर्गठन हुने बताए । राप्रपाका मन्त्रीहरुले शनिबार नै राजीनामा बुझाएका छन् । प्रधानमन्त्री प्रचण्डले राप्रपाका मन्त्रीहरुले दिएको राजीनामा स्वीकृत हुने समेत बताए ।

शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपतिको विषयमा गरेको कुराकानीबारे बताउँदै प्रधानमन्त्री प्रचण्डले आफूहरू राष्ट्रिय सहमतिको सूत्रधार बनेर नेपाली कांग्रेसलाई राष्ट्रपति दिने भनेर प्रस्ताव गर्दा ओली नमानेको बताए ।

शनिबार बालुवाटारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले भने, ‘यहीँ बालुवाटारमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्दा तपाईं र म राष्ट्रिय सहमतिको सूत्रधार बनौं । नेपाली कांग्रेसलाई राष्ट्रपति तपाईं र मेरो सहमतिले दिऊँ ।

सबैभन्दा ठूलो पार्टीको राष्ट्रपति हुन्छ, तपाईंको सभामुख भएकै छन् । राष्ट्रियसभाका अध्यक्ष पनि छन् । हामी दुइटै गएर नेपाली कांग्रेसलाई राष्ट्रपति लिनुस् भन्यौं भने एउटा नयाँ राष्ट्रिय सहमति हुन्छ भनेको थिएँ । तर, उहाँले मान्नुभएन ।’

शुक्रबार भएको आठ दलीय सहमति नै राष्ट्रिय सहमति भएको उनको भनाइ छ । उनले भने, ‘यसो त एमालेले सरकार छाडेपनि सभामुख पाइसकेको हुँदा कतै जान सक्ने स्थिति छैन । हो प्रतिपक्षमा जान सक्नुहुन्छ उहाँहरू करिब–करिब जानुभयो ।’

आठ दलीय सहमतिमा नेपाली कांग्रेसको तर्फबाट फागुन २५ गते हुने निर्वाचनको लागि रामचन्द्र पौडेललाई उम्मेदवार बनाएको छ । पौडेललाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थन छ । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले पनि पौडेललाई समर्थन गर्ने बताइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्