Logo
Logo

पाँच करोडको लगानीमा ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालन


567
Shares

फाइल फाेटाे

भरतपुर । सवारी चालक प्रशिक्षण प्रदान गर्न आधुनिक सुविधासहित ‘चितवन ड्राइभिङ स्कुल’ सञ्चालनमा ल्याइएको छ ।

पाँच करोडभन्दा बढीका लगानीमा चितवन ड्राइभिङ स्कुल प्रालिले भरतपुर महानगरपालिका–४ लङ्कुमा सो स्कुल शनिबारदेखि सञ्चालनमा ल्याएको हो । हालै बागमती प्रदेश यातायात व्यवस्था कार्यालयले चितवनबाट चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरुआत गरेसँगै सो स्कुल सञ्चालनमा आएको जनाइएको छ ।

सो कार्यालयद्वारा जारी ‘सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४’ का अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो ।

स्कुलमा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिलाई पनि विशेष प्रशिक्षणको व्यवस्था रहेको र अहिले स्कुलमा पाँच कमजोर शारीरिक अवस्थाका व्यक्तिले निःशुल्क प्रशिक्षण लिइरहेको बताइएको छ ।

दुई बिघा क्षेत्रफलमा सञ्चालित सो स्कुलका सञ्चालकमा युवा व्यवसायी माधवप्रसाद अधिकारी, रामनारायण घिमिरे, राजन क्षेत्री र विवेकजङ्ग थापा रहेका छन् ।

स्कुलमा एकैपटक बीसभन्दा बढी प्रशिक्षार्थीलाई प्रशिक्षण दिन सकिने छ । हाल मोटरसाइकल, स्कुटर, अटो र चारपाङ्ग्रे सवारीसाधनको चालक प्रशिक्षण दिन स्कुलले सुरुआत गरेको छ ।

स्कुलले ट्राफिक प्रहरीको समन्वयमा ट्राफिक नियम र सचेतनासम्बन्धी जानकारी पनि एकैसाथ अगाडि बढाउने जनाएको छ ।

पछिल्लो समय सवारी दुर्घटनामध्ये ८० प्रतिशत दुर्घटना सवारी चालकको लापरवाहीले हुने गरेको ट्राफिक प्रहरी कार्यालको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस्