गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल आगामी पुस्ताले गर्व गर्न लायक बनाउने बताएका छन् ।
आइतबार गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा २६औँ दिलबहादुर रम्तेल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्धानमन्त्री प्रचण्डले विकास निर्माणका ठूला परियोजना र सुशासनमार्फत आफ्नो तेस्रो कार्यकाल आगामी पुस्ताले सम्झन लायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘नेपालको अहिलेको अर्थतन्त्रलाई अझ बढी सङ्कटतर्फ जान नदिने र सुधारतर्फ लैजाने साह्रै ठूलो दायित्व वर्तमान सरकारको काँधमा छ । सुशासन स्थापना गर्ने चुनौती पनि हाम्रो अगाडि छ मैले त्यसको थालनी गरिसकेको छु ।’ प्रधानमन्त्री प्रचण्डले सुशासन र समृद्धिका लागि प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै संसद्मा आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छोड्ने बताए ।
उनले आफ्नो नेतृत्वमा सरकार गठन भएको दुई महिना बित्दा नबित्दै अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत देखा परिसकेको भन्दै यो नेपाल र नेपाली जनताका लागि खुसीको कुरा भएको बताए ।
देशमा सुशासन स्थापना गर्न उच्चस्तरीय प्रशासनिक सुधार आयोग गठन गर्ने र अनावश्यक संरचना, जनशक्तिलाई हटाएर मितव्ययी बनाउने जस्ता गुणात्मक सुधारको थालनी सरकारले गरिसकेको उनको भनाइ छ ।
प्रधानमन्त्री प्रचण्डले अबको बाँकी जीवन सुशासन तथा समृद्धिका निम्ति र देशको विकासका निम्ति खर्च गर्ने प्रतिबद्धता दोहो¥याउँदै त्यसका लागि सबै नेपाली जनताको साथ चाहिएको उल्लेख गरे ।
यसैबीच प्रधानमन्त्री प्रचण्डले यही फागुन २५ गते हुन लागेको राष्ट्रपतिको निर्वाचन सर्वसम्मत गराएर राष्ट्रिय सहमतिको वातावरण कायम गर्न आफू लागि परेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले पनि नेकपा एमालेसँग लगातार कुरा भइरहेको छ । २५ गतेसम्म जाँदा राष्ट्रपतिमा सर्वसम्मत भयो भने धेरै राम्रो हुन्छ, त्यो कोसिस हामी गरिरहेका छौँ ।’
उनले त्यसो हुन नसके पनि नयाँ राजनीतिक यात्रा स्थायित्व र विकासका निम्ति अझ सहयोगी हुने विश्वास व्यक्त गरे । उनले निर्वाचनमा मत माग्ने क्रममा गोरखाका कच्ची सडकलाई स्तरोन्नति गर्ने, कालोपत्र गर्ने प्रतिबद्धता व्यक्त गरेअनुसार त्यसलाई कार्यान्वयन प्रक्रियामा लैजाने बताए ।
प्रधानमन्त्रीमा निर्वाचित भएपछि गोरखाका जनतालाई पहिलो पटक भेट्न पाएकोमा उनले खुसी व्यक्त गरे । सोही अवसरमा उनले जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलकी आमा चरिमाया रम्तेल र बुबा सेते रम्ते लगायतका सहिद परिवारलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।














