
काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रियसभा बैठक बस्दैछ । राष्ट्रियसभाको आजको बैठक मध्यान्ह १२ः३१ बजे सुरु हुने संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रीपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने छन् ।
त्यस्तै राष्ट्रियसभा अन्तर्गत गठित विषयगत समितिमा सदस्यहरुको नाम मनोनयन गर्ने, विधायन व्यवस्थापन समितिका सभापति डा. वेदुराम भुसालले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन २०७८/०७९ सभा समक्ष पेस गर्नेछन् ।
राष्ट्रिय सरोकार तथा मन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन मूल्यांकन प्रतिवेदन–२०७९ सभा समक्ष पेस गर्ने, दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धमा दर्ता भएको संकल्प प्रस्तावका सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ ।














