काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले लगातार पाँचौ जित निकाले छ । घरेलु मैदानमा भएको खेलमा सबै खेल जितेको नेपालले दुबईमा भएको त्रिकोणात्मक श्रृंखलाको पहिलो खेल पनि जितेको हो ।
आज (सोमबार) दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई चार विकेटले पराजित गरेको हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृंखलामा नेपालले सबै चार खेल जितेको थियो ।

पपुवा न्युगिनीले दिएको २०४ रनको लक्ष्य नेपालले ४४.२ बलमा ६ विकेट गुमाउँदै भेट्टायो । नेपाललाई सहज जित दिलाउनको लागि कुशल भुर्तेलले अर्धसतकतपारी खेले । उनले ६९ बल पाँच चौका प्रहार गर्दै ५६ रन जोडे ।
त्यस्तै नेपालका आसिफ शेखले ४४ रन जोडे । उनले ३९ बलमा पाँच चौका प्रहार गरेका थिए । ज्ञानेन्द्र मल्ल ४ रनमा आउट हुँदा कप्तान रोहीत पौडेलले २० रन जोडे । त्यसैगरी आरिफ शेखले ३३ रन, दीपेन्द्र सिंह ऐरीले २२ रन, कुशल १२ र सोमपाल कामी ५ रनमा अविजित रहे ।
त्यसअघि टस जितेर नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको पपुवा न्युगिनीले ९ विकेटको क्षतिमा २०३ रन जोडेको थियो ।
पपुवा न्युगिनीको लागि चाड सोपरले ५३ बलमा दुई चौका प्रहार गर्दै ३६ रन जोडे । कप्तान असद भालाले ५३ बलमा ३६ रन जोडे । त्यस्तै ब्याट्सम्यान किपलिन डोरिगाले २९ रन, सेसे बाउले ३१ रन, नोर्मान भानुआले २५ रन जोडे ।
बलिङमा नेपालका गुल्शन झाले ३ विकेट लिए । कुशल मल्लले २ विकेट लिँदा डेब्यु खेलाडी प्रतिश जिसीले १ विकेट हात पारे । करण केसी र सोमपाल कामीले १/१ विकेट लिन सफल भए ।
अब लिग–२ मा सहभागी ७ मध्ये नेपालले अब युएईसँग दुई र पिएनजीसँग एक त्रिकोणात्मक सिरिज खेल्न बाँकी छ । तीनै टिमले यो महिना दुई सिरिजमा ४/४ गरी ८ खेल खेल्नेछन् ।
लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ । यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ ।
लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन् ।
तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ भने चौथो स्थानको अमेरिकाको समान खेलबाट ३५ अंक छ । युएई २८ खेलबाट २९ अंक जोड्दै पाँचौ स्थानमा रहँदा छैटौँ स्थानको नेपालको २९ खेलबाट २७ अंक छ । पुछारको पिएनजीको २९ खेलबाट ५ अंक छ ।











