
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ ।
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने ११ बजे सुरु हुनेछ ।
युएईविरुद्धको खेलमा आज लेग स्पिनर सन्दीप लामिछाने मैदान उत्रने सम्भावना बलियो छ । नाबालिका बलात्कार आरोप लागेका सन्दिपलाई सर्वोच्च अदालतले विदेश जान अनुमति दिएसँगै उनी हिजै यूएई पुगिसकेका छन् ।
सन्दीपले मौसम ढकालको स्थान लिएका छन् । प्रशिक्षणका क्रममा मौसम घाइते भएपछि उनको स्थानमा सन्दीपलाइ पठाईएको हो ।
लिग २ को पछिल्ला ५ खेलमा अपराजित रहेको नेपाली टोली उच्च मनोबलमा छ । नेपालले यसअघि घरेलु मैदानमा भएको स्कटल्यान्ड र नामिबिया सम्मिलित त्रिकोणात्मक सिरिज क्लीन स्वीप गरेको थियो ।
युएईमा जारी सिरिजमा पनि नेपालले पपुवा न्यु गिनीलाई हराउँदै लिग २ मा लगातार पाँचौा जित दर्ता गराएको थियो ।
उता घरेलु टोली युएई भने घरेलु मैदानमा सुरु सिरिजको पहिलो खेलमा पीएनजीसँग पराजित भएको थियो । लिग २ का पछिल्ला २ खेलमा युएईले हार भोगेको छ ।
पछिल्लो समय खराब ब्याटिङबाट गुज्रिरहेको नेपालका ब्याटरहरुले एकपछि अर्को सम्झन लायक प्रर्दशन गरिरहेका छन् । मुख्य प्रशिक्षक मोन्टी देशाईले टोली सम्हालेपछि नेपालको ब्याटिङ समस्या सुधारिएको देखिएको छ । तर, नेपाली टोलीको असली परिक्षा आज हुनेछ ।
युएईलाई उसैको मैदानमा हराउन सहज हुनेछैन । पपुवा न्युगिनीसँग १ सय ३१ रनले पराजित भएको युएई नेपालसँग पराजित हुँदा ओडिआई मान्यता जोखिममा पर्नेछ । नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।
युएई २९ खेलमा १३ मा जित र १३ मा हार सहित २९ अंकका साथ पाँचौं स्थानमा छ । शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोट खेल्न नेपालले अव ७ मध्य ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै सोझै ओडिआई मान्यता जोगाउन नेपालले कम्तिमा ४ खेल जित्न आवश्यक छ ।











