Logo
Logo

राष्ट्रपति निर्वाचन : कांग्रेसले प्रदेशमा खटायो पदाधिकारी


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ । सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पार्टी पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो ।

कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेश प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरूङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

यसैबीच कांग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ । कांग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ । राष्ट्रपतिमा पौडेललाई जिताउनका लागि कांग्रेससहित ८ दलले शुक्रबार सातै प्रदेशमा प्रदेशसभा सदस्यहरूसँग अन्तर्क्रिरया गर्दैछन् ।

यस्तै बिहीबार दिउँसो काठमाडौंमा प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्यहरूलाई ८ दलका शीर्ष नेताले प्रशिक्षण दिने कार्यक्रम तय भएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । यही फागुन २५ गते राष्ट्रपति निर्वाचनका लागि मतदान हुँदैछ । राष्ट्रपतिमा कांग्रेससहित ८ दलको समर्थनमा पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्