काठमाडौं । दीपेन्द्रसिंह ऐरीले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा पपुवा न्युगिनीविरुद्ध नेपाललाई पाँचौं सफलता दिलाएका छन् ।

दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले ३७ ओभरमा ५ विकेट गुमाउँदै १ सय ३६ रन बनाएको छ ।
ओपनर किप्लिङ डोरिगाले ४३ बलमा ३ चौकासहित २६ रन बनाउँदै एलबीडब्लू आउट भए । लेग स्पिनर सन्दीप लामिछानेको बलमा उनी एलीबडब्लू आउट हुन पुगेका थिए । दीपेन्द्रले बायाँ हाते ब्याटर गौडी टोकालाई ३६ औं ओभरको अन्तिम बलमा १५ रनमा बोल्ड आउट गर्दै नेपाललाई पाँचौं सफलता दिलाएका हुन् ।
पहिलो पावर प्लेमा विकेटविहीन बनेको नेपाललाई सन्दीपले आफ्नो स्पेलको तेस्रो बलमै विकेट लिँदै पहिलो सफलता दिलाएका थिए । कुशल मल्लको १९ औं ओभरको तेस्रो बलमा सेसे बाउ ११ रनमा आउट भए ।
विकेटकिपर आसिफ शेखले उनलाई रन आउट गर्दै पेभेलिएन फर्काएका थिए । यस सिरिजमा राम्रो लयमा रहेका बाउले नेपालविरुद्ध पहिलो खेलमा ३१ र युएईलाई हराउन ७४ रनको इनिङ खेलेका थिए ।
नेपाललाई शीर्ष तीनमा पर्दै सोझै एकदिवसीय विश्वकप छनोट खेल्न बाँकी सबै ६ खेल जित्नुपर्ने हुन्छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता सोझै प्राप्त गर्न नेपालले चार जित आवश्यक छ ।










