Logo
Logo

‘मेरो गीत सुनेर धेरै युवा स्वदेश फर्किए’



काठमाडौं । गायिका सीता केसीले दुई सयभन्दा बढी गीत गाइसकेकी छिन् । तर, उनी एउटै गीतले चर्चित छिन्, ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ । उक्त गीतका गायिका केसीको ‘सिग्नेचर गीत’ नै बनेको छ । उनी भन्छिन्, ‘यो गीत गाउनुअघि थुप्रै गाइसकेकी थिएँ । तर, जब मलाई अमेरिका यही जापान पनि यही’ गाएँ, तब चिनिएँ ।’

गायिका केसीलाई यही गीतले बेलायत र जापानसमेत पुर्यायो । उनी भन्छिन्, ‘अमेरिकाचाहिँ पुर्याएको छैन ।’ पढेलेखेकाहरु समेत श्रम बेच्न विदेश जाने युवालाई व्यंग्य गर्दै तयार बनाइएको उक्त गीत सुनेपछि थुप्रै नेपाली खाडीबाट फर्किएको गायिका केसी बताउँछिन् । २०६४ सालदेखि गायनमा सक्रिय रहेकी बागलुङ, गलकोटकी केसीका ‘छलछल पानी गाग्रीमा’, ‘पिरतीको डोरी’, ‘भाग्यले पनि ढाँट्यो’जस्ता थुप्रै चर्चित गीत छन् । यिनै गायिका सीता केसीसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज कतिको व्यस्त हुनुहुन्छ ?
पहिलेजस्तो व्यस्त छैन । नयाँ गीतहरू गर्दैछु । त्यसका आलावा स्टेज कार्यक्रमहरू पनि गर्दै आएकी छु ।

एक समय साह्रै व्यस्त हुनुहुन्थ्यो नि ?
हो, ‘मलाई अमेरिका यही, मलाई जापान पनि यही’ गीत हिट भएपछि देशविदेशबाट कार्यक्रमका लागि अफर आउन थाल्यो । त्यो बेला भ्याइनभ्याई भएको थिएँ । तर, केही वर्षयता अलिक ब्याक भएकी छु ।

के कारणले ब्याक हुनुभयोे ?
बुबा र आमा बितेपछि ब्याक भएकी हुँ । दुई वर्षअघि मेरो बुबा बित्नुभयो । मेरी आमा केही महिनाअघि बित्नुभयो । अल्पआयुमै बुबाआमा गुमाएपछि शोकमा परेँ । रोमान्टिक गीतहरू गाइनँ । यसबीच पनि गीतहरू त गाएँ । तर, रोमान्टिक जस्तो स्याड गीतहरू चर्चामा आएनन् । तर, फेरि अगाडि बढ्ने कोसिस गर्दैछु ।

गीतसंगीत क्षेत्रमा लाग्ने प्रेरणा कसरी मिल्यो ?
बुबामाआको सपना पूरा गर्न गायनमा लागेकी हुँ । मलाई गायिका बनाउने बुबाको सपना थियो । त्यो बेला बुबाआमाले पनि गाउनुहुन्थ्यो । तर, गाउँमा उहाँहरूले गीत रेकर्ड गर्न पाउनुभएन । त्यसैले मलाई गायिका बनाउनुभयो । अर्को कुरा, परिवारमै सांगीतिक माहोल थियो । मेरो दाजु र भाइ पनि सांगीतिक क्षेत्रमै हुनुहुन्छ ।

तपाईँ लोकदोहोरी गीत बढी गाउनुहुन्छ होइन ?
सबै प्रकारका गीत गाउँछु । तर, जब मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ गीत गाएँ, त्यसपछि लोकगायिका रुपमा बढी चिनिएँ । अहिले त लोकदोहोरी बढी गाउँदै आएकी छु ।

‘मलाई अमेरिका यही, जापान पनि यही’ गीत श्रोता–दर्शकले किन रुचाए जस्तो लाग्छ ?
नेपाली समाजलाई सुहाउने सान्दर्भिक भएर होला सायद । उक्त गीत गाएको समयमा देशका पढेलेखेका युवाहरु समेत श्रम बेच्न विदेश जाने लहर चलेको थियो । त्यसो त अहिले पनि अवस्था त्यही छ । मेरो उक्त गीतले श्रम र पसिना बगाउन सकियो भने नेपालमै पैसा छ भन्ने सन्देश दिएको छ । मेरो त्यो गीत सुनेर धेरै युवा स्वदेश फर्किएका पनि छन् । कतिले मलाई ‘तपाइँको गीत सुनेर नेपालमै केही गर्ने साहस आयो’समेत भनेर सुनाउँछन् । त्यो सुन्दा खुसी लाग्छ ।

तपाईँले गायन अँगाल्दा एल्वम निकाल्ने चलन थियो । तपाईँले निकाल्नुभएन ?
मैले पनि एल्वम निकालेकी थिएँ । मेरो पहिलो एल्वम ‘ज्यान टाढा’ हो । यो मेरो पहिलो रेकर्डिङ गीत हो । तर, उक्त गीत खासै हिट भएन । त्यो बेला कम्पनीमार्फत एल्वम निकाल्ने चलन थियो । कम्पनीहरू नयाँ कलाकारलाई पत्याउँदैनथिए । पैसा तिरेर प्रोमो बजाउनु पथ्र्यो । त्यो बेला मजस्ता नयाँ कलाकारको पैसा तिरेर पनि कम्पनीहरू गीत बजाउन मान्दैनथिए । अहिले पनि ती कम्पनीका मालिकहरू भेट्ने गरेकी छु ।

अहिले भेट्दा के भन्छन् नि ?
मिलेर काम गरौँ भन्छन् । तर, अहिले एल्वमको जमाना छैन । कम्पनीको समेत आवश्यकता हुँदैन । हिजोआज सिंगल ट्रयाक गाएर भिडियो बनाउने अनि युट्युबमा अपलोड गरे पुग्छ ।

गायक/गायिकालाई अहिले सजिलो छ होइन त ?
सजिलो पनि छ, गाह्रो पनि छ । अहिले अनुशासनमा बसेर गाउनेलाई गाह्रो छ । हिजोआज छाडा र भद्धा शब्दचयन गरेर गाइएका गीत हिट हुन्छ । राम्रो गायो भने चल्दैन । यो भाइरल हुने प्रवृतिले गर्दा राम्रा र अग्रज स्रष्टाहरू मारमा परेका छन् ।

तपाइँलाई ‘भाइरल’ हुन मन पर्दैन ?
मलाई भाइरल भन्ने शब्द नै मन पर्दैन । एकैचोटी टुप्पोमा पुगेर फेरि भुइँमा झर्नु के मज्जा र ? त्यसैले अहिले जे छु, त्यही ठिक छ । गीत भनेको टिकाउ र सदावहार हुनुपर्छ भन्ने मेरो मान्यता हो ।

आफ्नो पेसाबाट खुसी र सन्तुष्ट हुनुहुन्छ ?
अहिलेसम्म खुसी छु । बुबाआमाको सपना पूरा गरेकी छु । दर्शक र श्रोताको माया पाएकी छु । पैसा भन्ने चिज आफ्नै ठाउँमा छ । यदि, गायनमा नलागेको भए आज मलाई कसले चिन्थ्यो होला र ? गायनमा लागेरै सीता केसी भनेर चिनिएकी छु । मेरो लागि यही ठूलो खुसी हो ।

प्रतिक्रिया दिनुहोस्