Logo
Logo
साहित्य

‘सुम्वादो’ अर्थात तीन वैचारिकीको सम्मिलन



दमकको कदम थिएटरमा कार्यक्रम टुट्दैन । नाटक मञ्चन त नियमित हुने भइहाल्यो, दुई–दुई महिनामा भइरहने गजल विशेष कार्यक्रम ‘शेर अन्दाज’ होस् या नयाँ कृतिहरूको समीक्षा र बहस । कदम व्यस्त छ ।

व्यस्त नहोस् पनि कसरी ? सुमन लिङ्देन, सिजन दाहाल, मनिक शाशंकर, चोमु शेर्पाजस्ता ऊर्जावान् र सिर्जनशीलहरू कदमसँग जोडिएका छन् ।

यसपटक भने कदम थिएटरले एउटा नयाँ कार्यक्रम गर्यो । त्यो थियो– अन्तरदेशीय कविता वाचन ।

‘कदम कविता कन्सर्ट’को विशेष शृङ्खलाको रूपमा भारत, नेपाल र प्रवासबाट लेखिरहेका कविहरू सम्मिलित उक्त कार्यक्रमको नाम जुर्यो– सुम्वादो ।

लिम्बू भाषामा ‘सुम’ भनेको तीन र ‘वादो’ भनेको ‘बगेको खोला’ हुन्छ । तीनवटा खोलाको संगम अर्थात त्रिवेणी । सुम्वादो थियो– तीन फरक भूगोलको वैचारिकी र अनुभवहरूको सम्मिलन ।

कार्यक्रम संयोजक कवि बच्चु हिमाङ्सुका अनुसार सुम्वादो नाम जुराउन निक्कै कसरत रह्यो । लगभग १५ दिनसम्म विभिन्न कवि लेखकहरूलाई एउटा मौलिक नाम जुराउन अनुरोध गरियो । कार्यक्रम हुनुभन्दा चारदिन अघि कवि स्वप्निल स्मृतिले न्वारन गरे– सुम्वादो ।

कविता सुन्न खचाखच दर्शकले भरिएको हलमा भारत र नेपालबाट चार–चार जना र प्रवासबाट एकजना गरेर ९ कविले डेढ घण्टा कविता सुनाए ।

खरको छाना र परम्परागत मौलिक सामग्रीले सजाइएको थिएटर, जसले मौलिक सौन्दर्यको झल्को दिन्थ्यो । छेवै भएर बग्ने सानो खोल्सीको कलकल, नजिकैको बाँस झ्याङबाट आउने चिरबिर चिरबिर, कदमको वातावरण नै मोहक ।

वातावरणीय दृष्टिमा कविता सुन्न अर्ग्यानिक परिवेश । त्यसमाथि दर्शकको ताली र वाहीवाहीले तात्तिएको माहोल । नेपालबाट मोरङकी कवि दीपा दाहालले ‘म प्रेमिका’, ‘आयुको सीमारेखाबाट एउटा प्रश्न’ र ‘आदिवासी सत्य’ सुनाइन ।

धनकुटाका कवि रोशन परियारले ‘वर्षौंपछि’, ‘चोकमा नआउनु तिमी’ कविता सुनाए । सुनसरीका कवि किरण सिवाले ‘तिमी नआउनु’, ‘कारण’ र ‘बुबाको सिलाइ मेसिन’ कविता वाचन गरे । र, मैले ‘सडक बहादुर’, ‘आदिवासी डाँडा’ र ‘पिडामाण्डु’ सुनाउने कोसिस गरे ।

भारतबाट सहभागी कवि विशाल नाल्बोले ‘लेबरको पिरती’, ‘भारत गाउँ’ र ‘मुन्धुमी भ्यालेन्टाइन’ सुनाए ।
आशिष लिम्बूले ‘बाडुली’, ‘एकपल्ट भेट्नु’ र ‘लास’ सुनाउँदा राकेश क्रान्तिकारीले ‘पुरानो वर्ष रिटन्स’, ‘दुर्गा भर्सेज दुर्गा’ र ‘उनीहरू पागल हुन्’ सुनाएका थिए ।

स्मिता सोताङ राईले ‘प्रेममा परेकी युवती’, ‘गहिरो सम्झना’ र ‘बुद्ध उपक्रम’ कविता वाचन गरेका थिए भने प्रवासबाट भर्खरै ‘मद्वारा मेरो निर्माण’ कृति बजारमा ल्याएका कवि तथा इतर अभियानका अभियन्ता ‘पराजित पोमु’ले ‘मद्वारा मेरो निर्माण’, ‘ट्रेन र मेसिनको संगीत’ सुनाए ।

किरन सिवा, रोसन परियार, आशिष लिम्बू र विशाल नाल्बोको कवितामा प्रेम नै प्रमुख विषय थियो । राकेशको कवितामा विद्रोह र क्रान्ति देखिन्थ्यो ।

सांस्कृतिक सौन्दर्य र विनिर्माण बोल्ने लाइनमा पराजित पोमुसँगै म पनि उभिएको थिए । स्मिता र दीपाको कवितामा समानता र मानवताको आवाज गुन्जियो ।

तुम्याहाङ कविहरूको उपस्थिति विशेष रह्यो । धर्मेन्द्रबिक्रम नेम्वाङ र प्रकाश भण्डारी अग्रभागमा थिए । कहिले मुसुमुसु हाँस्दै त कहिले गम्भीर भएर सोचमग्न हुँदै कविता सुने, कविता देखे । र, सुम्वादोबारे बोले ।

तुम्याहाङ धर्मेन्द्रको बुझाइ र भोगाइमा ‘सुम्वादो’ नौलो अभ्यास थियो । उनका अनुसार काठमाडौँले पनि अहिलेसम्म गर्न नसकेको कार्यक्रम भयो । जहाँ युवा कविहरूलाई सुन्न पाउँदा हर्षित भए । लेखिरहेका कविहरू नेपाली साहित्यमा खरो उत्रिरहेको उनको ठम्याइ रह्यो । यी कविहरूलाई काठमाडौंसँग जोड्ने उनको चाहना छ ।

सुम्वादोले तुम्याहाङ प्रकाश भण्डारीलाई नेपाल–भारतबीचको साहित्य सम्बन्ध स्मरण गर्न बाध्य बनायो ।

नेपाल–भारतको साहित्यिक मित्रता लीलाबहादुर क्षेत्री, अगमसिङ गिरि र प्रकाश कोविदहरूको पालाबाटै हुँदै आएको र सुम्वादोले त्यो सम्बन्धलाई अझ आत्मीय र सुमधुर पार्ने विश्वास लिए ।

सुम्वादोगर्भ र सारथी
‘केही नयाँ त गर्नै पर्छ’, बच्चु हिमाङ्सुको दिमागमा घुमिरहने कुरा । मोफसलका कविहरू लिएर मोफसलमै राष्ट्रियस्तरको कार्यक्रम गर्ने, भारतमा बसेर लेखिरहेका युवा कविहरूलाई नेपालसँग जोडने जस्ता धेरै सोचिरहन्थे । त्यसै सिलसिलामा तय भएको कार्यक्रम थियो– सुम्वादो ।

कार्यक्रम झापाको दमकमा गर्ने योजना थियो । दमकमा दर्जन साहित्यिक संस्थाहरू छन् । मध्ये कसको ब्यानरमा गर्ने भन्ने दुबिधा छँदै थियो । र, अप्ठ्याराहरू पनि धेरै थिए ।
दमकलाई कविताको त्रिदेशीय संगम बनाउने सोच बोकेर हिँडिरहेका बच्चुले भेटे– सुमन लिङ्देन र बलिन्द्र योङहाङ ।

सुमनले दमकमा हलको व्यवस्थापन गर्ने भए । बलिन्द्र आर्थिक व्यवस्थापनमा जुटे । सुमन आफै जोडिएको कदम थिएटरमा कार्यक्रम हुने भयो ।

बलिन्द्रले युकेमा रहेर साहित्य र पत्रकारितामा योगदान गरिरहेका अमित याक्थुङ्बा र कोरियामा रहेर साहित्यमा क्रियाशील उत्तम खजुम लगायतलाई सुम्वादोमा जोडे । नैतिक समर्थन छँदै थियो, आर्थिक रूपमा अमित र उत्तमको साथ मिल्दा सुम्वादोको माङ्गेन्न उठ्यो, नेपाली साहित्यको विकासमा इँटा थपियो ।

मूलधार हल्लाउने मोफसल
नेपाली साहित्यमा केन्द्र र मोफसल, मूलधार र इतरजस्ता विभेदहरू बाँकी नै छन् । गुट, उपगुट, बिचार, वाद, प्रवेश वा निषेधको साँघुरो संरचनाले घेरेकै छ ।

अझैपनि काठमाडौं मोफसलको अस्तित्व स्वीकार्न तयार छैन । मोफसलका साहित्य साधकलाई हेर्ने नजरियामा फेरिएको छैन ।

हाम्रो समाजमा नवीनहरू नवीन भएर स्थापित हुनै पाउँदैनन् । त्यसमा पनि मोफसलबाट स्पेस खोजिरहेकाहरूको त झन कुरै नगरौँ । काठमाडौंले मोफसललाई दास बनाउन चाहन्छ । र, मोफसल पनि दास मानसिकताबाट माथि उठ्न कोसिस नै गर्दैन !

अब भने मोफसललाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन्छ नै । किनकी, काठमाडौँभन्दा मोफसल धेरै सिर्जनशील भैसक्यो । त्यसैको एक उदाहरण हो– सुम्वादो ।

सुम्वादो आफैमा नवीन र सार्थक खोज हो– मौलिक सौन्दर्यको, विकेन्द्रीकरण र युवा सिर्जनशीलताको ।

०००

पुसमा मात्रै इलाम सदरमुकाममा ‘इलाम अगेन’ अभियान अन्तर्गत ‘महाभारा’ नाटक मञ्चन भयो । इलामकै कथावस्तु, इलामकै कलाकार, इलामकै साधन र स्रोतमा निर्देशक अन्वेष थुलुङले इतिहास रचे ।

संरचनागत मात्र नभएर दर्शक र नाटक साँस्कृतिक दृष्टिमा सहज थिएन । तर, अन्वेषले उठाएको साहसले एउटा उचाइँ चुम्यो ।

माघमा मात्रै चुलाचुली थिएटरले सिङ्गो देशको ध्यान तान्यो । ग्रामीण परिवेशमा सम्पन्न ‘चुलाचुली पाठशाला नाट्य उत्सव–२०७९’ मा १० वटा नाटक मञ्चन भए । चेतन आङ्थुपो, अनिल सुब्बा र रमिता राईहरू मिलेर काठमाडौंलाई मोफसलको वास्ताविक क्षमता देखाए ।

राजधानीमै बल्ल नाटक हेर्न संस्कृतिको बिकास हुँदैछ । राजधानी बाहिर त दर्शक पाउन सहज छैन । चुलाचुली पाठशाला नाट्य उत्सवले पनि अपेक्षाकृत दर्शक पाएन होला तर यसले निर्माण गर्ने फरक र मौलिक बैचारिकी हो । यसले प्रदान गर्ने नवीन सोच, विचार र ऊर्जा हो ।

प्रतिक्रिया दिनुहोस्