Logo
Logo

आईजीपी बन्ने किरणको सम्भावना कति ?



काठमाडौं । नेपाल प्रहरीका आईजीपी धीरजप्रताप सिंह ३० वर्षे सेवा अवधीका कारण चैत ११ गतेबाट अनिवार्य अवकाशमा जाँदै छन् । अहिले कै प्रहरी नियमावली यथावत् रहेको खण्डमा सिंह अबको दुई सातामा अनिवार्य अवकाशमा जानेछन् ।

त्यसपछि उनीसँगै उनका ब्याची एआईजी र डीआईजीले पनि सोही मितिमा अवकाश पाउनेछन् । प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउने चर्चा पनि छ । तर, अहिलेकै अवस्था कायम रहे आईजीपी सिंहको कार्यकाल ११ चैतमा सकिनेछ ।

यस्तोमा नयाँ आईजीपी को बन्लान् भन्ने चर्चा सुरु भएको छ । शुक्रवारमात्रै एआईजीमा बढुवा सिफारिस भएका पाँच जनामध्येबाट एक जनाले सङ्गठन प्रमुखको जिम्मेवारी पाउनेछन्।

बढुवा सिफारिसको पहिलो नम्बरमा वसन्तबहादुर कुँवरको नाम छ । त्यसपछि क्रमशः डीआईजीहरू टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम छ । सात दिनसम्म उनीहरू विरुद्ध कुनै पनि उजुरी नपरेको खण्डमा मन्त्रिपरिषद्को बैठकले उनीहरुलाई एआईजीमा बढुवा गर्नेछ ।

बढुवा भएको केही दिन पनि बित्न नपाउँदै बढुवामा परेकामध्येबाट एक जनाले नेपाल प्रहरी प्रमुखको फुलि लगाउने अवसर पाउनेछन् । प्रत्येक पटक आईजी नियुक्तिको क्रममा विवाद हुने गरेको छ ।

यसै विषयलाई लिएर सरकारको निर्णय चित्त नबुझ्दा डीआईजी नवराज सिलवाल, रमेश खरेल र विश्वराज पोखरेलले राजीनामा दिएका पछिल्ला उदाहरण नै छन् । त्यसैले आईजी नियुक्तिमा सरकारको भूमिका पनि अहम् रहेको छ । यस्तो अवस्थामा सरकारले एआईजीमध्येबाट जो कोहीलाई पनि आईजीपी नियुक्त गर्न सक्छ ।

एआईजीमा सिफारिस भएसँगै सबैले आईजीपीको दौडधुप सुरु गरेका छन् । विभिन्न शक्तिकेन्द्रमा धाएर आफूलाई आईजीपी बनाउन उनीहरूले ‘लबिङ’ गरिरहेका हुन् ।

साढे ६ दशक लामो प्रहरी इतिहासमा पहिलोपटक आईजीपीको दौडमा एक मात्र महिला किरण बज्राचार्य छन् । हालसम्म प्रहरी नेतृत्वमा महिला अधिकारी पुगेका छैनन् ।

शुक्रबारको सिफारिस अनुसार बढुवा भएको खण्डमा हाल डीआईजी रहेकी किरण बज्राचार्य पनि महानिरीक्षक बन्ने सक्ने सम्भावना रहनेछ । यदि उनलाई सरकारले आईजी बनाउने निर्णय गरेको खण्डमा नेपाल प्रहरीको इतिहासमा उनी पहिलो महिला प्रहरी महानिरीक्षक बन्नेछन् ।

यसअघि डीआईजी पार्वती थापा पहिलो एआईजी बन्ने लाइनमा पुगेका थिए । तर, सरकारले उनको बढुवा रोकेको थियो । उनीभन्दा कनिष्ठ उपेन्द्रकान्त अर्याललाई बढुवा गरेपछि उनी अदालतसम्म पुगेका थिए । तर, अदालतबाट उनले चाहेको जस्तो आदेश भएन । त्यसपछि उनले अवकाश पाए ।

त्यसपछिका महिला प्रहरी प्राविधिक बाहेक अन्य डीआईजी भन्दा माथि पुग्न सकेनन् । तर, अहिले भने नेपाल प्रहरीमा चार जना डीआईजी महिला छन् । जसमा बज्राचार्य बाहेक मीरा चौधरी, दुर्गा सिंह र किरण राणा रहेका छन् । तीन जना चाहिँ एआईजी सिफारिसमा परेनन् । त्यसैले हाललाई उनीहरूको आईजी हुने बाटो बन्द भएको छ ।

उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । उनीहरूले विभिन्न जिल्ला र ब्युरोको कमान्ड समेत सम्हालिसकेका छन । प्राविधिक बाहेक एआईजी पूजा सिंह उच्च प्रहरीको दर्जामा पुग्ने पहिलो महिला हुन् । अब नयाँ इतिहास बनाउने लयमा किरण बज्राचार्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्