Logo
Logo

डीएसपी केसीमाथि भ्रष्टाचार मुद्दा चलाउन सिफारिस



काठमाडौं । छानविन समितिले इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन डीएसपी ठगबहादुर केसीमाथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन सिफारिस गरेको छ ।

तत्कालीन डीएसपी केसीले पदीय दायित्व विपरीत बदमासी गरेको निष्कर्ष निकाल्दै छानविन समितिका संयोजक एसएसपी चन्द्र कुवेर खापुङले आईजीपी धिरज प्रताप सिंहलाई प्रतिवेदन बुझाएका हुन् ।

बुटवलस्थित टेलिकम कार्यालय अगाडिबाट सुनसहित पक्राउ परेका व्यापारी किसन विकको साथबाट प्रहरीले ३६ तोला ३२ लाल सुन बरामद गरेको थियो । सो सुन फिर्ता गर्न डीएसपी केसीले व्यापारीबाट नगद र चेक घुस लिएका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले केसीको निवासबाट ८ लाख ५० हजार नगद र ९ लाख ५० हजारको चेक बरामद गरेपछि सुन व्यापारी विकसँग ‘घुस’ लिएको घटना छानबिन गर्न एसएसपी खापुङको संयोजकमा समिति गठन गरिएको थियो ।

डीएसपी केसीले व्यापारीसँग सुन रितपूर्वक बरामद नगरेको र ‘बदनियत राखेर लिन–खान खोजेको’ निष्कर्षसहित भ्रष्टाचार मुद्दा चलाउन एसएसपी खापुङले आईजीपी धिरज प्रताप सिंहलाई छानविन प्रतिवेदन बुझाएको स्रोतले बतायो ।

डीएसपी केसी अहिले निलम्बनमा छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह सचिव विनोद प्रकाश सिंहले उनलाई पुस १४ मा निलम्बन गर्ने निर्णय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्