Logo
Logo

रक्तश्राव रोक्न भन्दै पाठेघर फालेपछि सुत्केरीको मृत्यु


- दृष्टि न्युज/संवाददाता


विराटनगर, १५ कातिक । सुत्केरीको मृत्यु भएपछि विराटनगरस्थित विराट नर्सिङ होम परिसर तनावग्रस्त बनेको छ ।
सुनसरीको दुहवी नगरपालिका–८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको बिहीबार साँझ ७ बजे मृत्यु भएको थियो । बढी रक्तश्राप रोक्न शल्यक्रिया गरेर पाठेघर फालिएपछि सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
आफन्त र परिवारका सदस्यले भने चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै दोषीलाई कारबाहीको माग गरी शव बुझ्न अस्वीकार गरेका हुन् । सुत्केरी व्यथाले च्यापेपछि रमिलालाई मंगलबार बिहान आफन्तले बूढीगंगा गाउँपालिकाको टंकीसिनवारीमा रहेको विराट टिचिङ अस्पतालमा भर्ना गरेका थिए ।
दुई दिन अघिमात्रै उनलाई स्वास्थ्य परीक्षणका लागि त्यहीं ल्याइएको थियो। सामान्य अवस्थामै पहिलो सन्तानका रुपमा बिहान ८ बजे छोरा जन्माए पनि अत्याधिक रक्तश्राव भएपछि चिकित्सकले शल्यक्रिया गरेर पाठेघर फ्याक्न सुझाव दिएको रमिलाका श्रीमान भूपाल घिमिरेले बताएका छन् ।
थप उपचारका लागि भनी परिवारका सदस्यको अनुमति बिनै बुधबार दिउँसो टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा लिएर गएको भूपालको भनाइ छ । मान्छे बचाउनका लागि भएपनि आफूहरु पारिवारिक सल्लाह गरेर पाठेघर फ्याल्ने कुरामा सहमत भएको भूपालले बताए ।
शल्यक्रियापछि अवस्था गम्भीर बनेकी आमालाई नर्सिङ होमको भेन्टिलेटरमा राखिएको थियो । उपचारकै क्रममा बिहीबार साँझ ७ बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । उनले जन्माएको शिशुको पनि मृत्यु भइसकेको छ ।
शल्यक्रिया सफल भएको र चार घण्टापछि होस आउँछ भनेर भनिएकी सुत्केरीको मृत्यु हुनुमा चिकित्सककै लापरबाही रहेको भूपालको आरोप छ । अस्पतालका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको टोलीले शल्यक्रिया गरेर पाठेघर फ्यालिदिएको थियो ।
सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको रमिलाकी जेठानी सुनैना घिमिरेले बताइन् । उनका अनुसार शल्यक्रियापछि रमिलालाई ११ पिन्ट रगत चढाइएको थियो ।
मृतकका आफन्तले घटनाको सुरुदेखि नै छानबिन हुनुपर्ने माग राख्दै शव बुझ्न अस्वीकार गरेका छन् । गाडी रिजर्भ गरेर विराटनगर आएका आफन्तले अहिले अस्पताल बाहिर प्रदर्शन र नारावाजी गरिरहेका छन् । दोषी चिकित्सकलाई कारबाही नभएसम्म शव नउठाउने अडान लिएर गरिएको प्रदर्शन र नारावाजीका कारण अवस्था तनावपूर्ण बनेको छ ।

प्रतिक्रिया दिनुहोस्