Logo
Logo

नेपालले यूएईलाई हराउँदा प्रयोग गरिएको ‘डीएलएस मेथर्ड’ के हो ?



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलाको अन्तिम तथा निर्णायक खेलमा नेपालले यूएईविरुद्ध ब्याटिङ गरिरहेको थियो ।

टस जितेर ब्याटिङ रोजेको यूएईले नेपाललाई तीन सय ११ रनको विशाल लक्ष्य दिएको थियो । एक दिवसीय क्रिकेटमा अहिलेसम्मै विशाल लक्ष्य पछ्याकाे नेपालले जवाफी ब्याटिङ गरिरहेको थियो ।

अन्तिमतिर खेल निकै रोमाञ्चक बन्दै थियो । नेपालको ६० बल हुँदा जितको लागि ८४ रन जोड्नुपर्ने स्थिति थियो । ५० बल बाँकी हुँदा नेपालले ६४ रन जोड्नु पर्ने थियो । ४० बलमा झर्दा नेपाललाई ४८ रनको आवश्यकता थियो ।

६ ओभर अर्थात् ३६ बल बाँकी हुँदा यूएईलाई जित्न नेपाललाई ४२ रनको खाचो थियो । नेपाले ४४ ओभरमा दुई सय ६९ रन बनाएको थियो । तर, त्यसैबेला रेफ्रीले नेपालले जितेको घोषणा गरिदिए ।

नेपालले यूएईलाई नौ रनले जित्यो । यूएईले टस जितेर ब्याटिङ गरेको थियो । पहिलो ब्याटिङ गर्नेले हो रनले जित्ने । पछि ब्याटिङ गर्नेले त विकेटले जित्नुपर्ने हो, फेरि पछि ब्याटिङ गरेको नेपाले रनले नै कसरी जित्यो ? त्यो पनि पूरै खेल नखेली । सबै अलमल्ल ! धेरैको मनमा प्रश्न खेल्यो- कसरी ? कसरी ? कसरी….? तर बधाई भने दिइहाले !

एकछिन पछि थाहा भयो- डीएलएस मेथर्डको आधारमा नेपालले यूएईलाई हराएको । फेरि अर्को समस्य आइलाग्यो- यो डीएलएस मेथर्ड भनेको के हो ? अहिले सामाजिक सञ्जालमा पनि यसैको चर्चा छ ।

के हो डीएलएस मेथर्ड ?

डकवर्थ–लुईस–स्टर्न (डीएलएस) पद्धति भनेको एक गणितीय प्रणाली हो । यो मौसम वा अन्य परिस्थितिले रोकिएको सीमित ओभरको खेलमा दोस्रो ब्याटिङ गर्ने टोलीका लागि लक्ष्य स्कोर गणना गर्न डिजाइन गरिएको गणितीय सूत्र हो ।

यो विधि तथ्याङ्कविद् फ्रान्क डकवर्थ र टोनी लुईस (पूर्व क्रिकेटर) ले बनाएका हुन् । यसको पहिलोपटक सन १९९७ मा प्रयोग गरिएको थियो ।

मौसम वा अन्य परिस्थितिले बिचैमा खेल रोकिए अर्को दिन पुनः खेलाउन उपयुक्त हुन्छ । तर, समयतालिका चुनौतीका कारण यो सधैं सम्भव हुँदैन । त्यसैले एकदिवसीयलाई व्यवस्थित गर्नको लागि यो मेथर्ड प्रयोगमा ल्याइएको हो ।

खेल बीचैमा रोकिए त्यसबेलासम्मको स्कोरलाई लिएर हार/जितको निर्णय गर्नुपर्ने हुन्छ । डीएलएस मेथर्डले विकेट र ओभर दुवैको तथ्याङ्कलाई देखाइरहेको हुन्छ ।

सुरुमा टोलीसँग शतप्रतिशत ५० ओभर र १० विकेट उपलब्ध हुन्छ । यो विधिले कुनै पनि बिन्दुमा बाँकी रहेको बल, रन र विकेटलाई देखाउने गर्छ । र, बीचैमा खेल रोकिए त्यसैको आधारमा रेफ्रिले जित/हारको निर्णय गर्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्