काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देशाईले ५० ओभरमा ३ सय ११ रनको लक्ष्य सम्हालिएर खेलेको अवस्थामा पछ्याउन कठिन नहुने भन्दै खेलाडीमा आत्मविश्वास रहेको बताएका छन् ।

खेल अवधिमा विपक्षी टोली केही रणनीति अपनाए पनि अनुशासित ब्याटिङ गर्दा नतिजा पोल्टामा परेको देशाईले बताए ।
उनले सो क्रममा अहिले भएको टोलीमा धेरै खेलाडीमा अद्भुत क्षमता भएको र भविष्यमा उनीहरुले नेपाली क्रिकेटको लागि राम्रो गर्नसक्ने बताए ।
लिग–२ को अन्तिम खेलमा नेपालले भ्रमणकारी युएईलाई डकवर्थ लेविस पद्धतिको आधारमा ९ रनले पराजित गर्दै नेपालले सिधै विश्वकप छनोटमा स्थानमा बनाउन सफल भयो।
नेपालले युएईलाई हराएपछि शीर्ष तीन अटाउँदै विश्वकप छनोट खेल्न योग्य भएको हो । विश्वकप छनोट आगामी जुन र जुलाईमा जिम्बाबेमा हुनेछ ।
जिम्बाबेमा हुने छनोट खेलमा नेपालले अब टेस्ट मान्यता राष्ट्रसहित अन्य देशसँग छनोट खेल खेल्नेछ । छनोटमा कुल १० टोली हुनेछन् ।
विश्वकप छनोटमा सुपर लिग–२ का पुछारका पाँच टोली, लिग–२ का शीर्ष तीन टोली नेपाल, ओमान र स्कटल्यान्ड र प्लेअफ क्वालिफायरमा शीर्ष दुई टोली गरी कुल १० टोली हुनेछन् ।











