काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मच्छिन्द्र फुटबल क्लब र चर्च ब्वाइज युनाइटेड बराबरी खेलेका छन् ।

आज (शुक्रबार) च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्र र चर्चब्वाइज गोलरहित बराबरी खेलका हुन् । खेलका दुवै टोलीले गोल गर्ने थुप्रै अवसर सिर्जना गरेपनि गोल गर्न भने सकेनन् ।
यस बराबरीले चर्च ब्वाइजको अपराजित यात्रा कायम रहेपनि शीर्षस्थानमा उक्लने लक्ष्यमा भने धक्का लागेको छ । सुरुवाती तीन खेल जितेको चर्च ब्वाइज अघिल्लो खेलमा संकटासँग पनि गोलरहित बराबरीमा रोकिएको थियो ।
यता मच्छिन्द्र भने सुरुवाती २ खेल हारेपछि लगातार तीन खेलमा अपराजित छ । टोलीले ५ खेलमा ५ अंक जोडेको छ । चर्च ब्वाइज ५ खेलमा ११ अंकसाथ दोस्रो स्थानमा छ भने सातदोबाटो ५ खेलमा १२ अंकसाथ शीर्षस्थानमा रहेको छ ।











