Logo
Logo

‘गाडीको टिकट पाउन युद्ध जित्नु जत्तिकै’


- दृष्टि न्युज/संवाददाता


सुर्खेत, १८ कार्तिक । जागीर, अध्ययन, व्यापारका साथै मौसमी बसाइँ गर्नेहरुको अहिले दक्षिण झर्नेको चटारो बढेको छ । विभिन्न पेशा–व्यवसायमा कार्यरतलाई आफ्नो कार्य क्षेत्रमा बेलैमा पुग्नुपर्ने बाध्यता पनि त्यत्तिकै छ । मूलतः यतिबेला जाडो छल्ने कर्णाली प्रदेशका हिमाली जिल्लाका बासिन्दा भित्री मधेश तथा तराई भर्ने लहर चलेको छ ।
विशेषगरी जुम्लाबाट प्रस्थान गरेदेखि गन्तव्य सुर्खेत, बाँके, चितवन, कास्की, काठमाडौँलगायत पूर्वी क्षेत्रमा भएका यात्रुलाई यात्रा गर्न यति बेला निकै ठूलो सास्ती छ । निश्चित टिकट मूल्य दरभन्दा बढी पैसा तिर्दा पनि टिकट नपाउँदा धेरै यात्रुलाई सकस भएको छ । यात्रुलाई साना जीपदेखि ठूला बसको टिकट लिन शक्ति गुहार्नुपरेको छ । अन्य समयमा लिने भाडाभन्दा अहिले जुम्लाबाट तल यात्रु ओसार्ने गाडी सञ्चालकहरुले २०–२५ प्रतिशत बढाएर भाडा असुल्ने गरेको यात्रुले बताएका छन् ।
यद्यपि सोझासीभालाई टिकट पाउन युद्ध जित्नुजत्तिकै भएको छ । चन्दननाथ नगरपालिका–८ जुम्ला निवासी धनवीर नेपालीले सुर्खेतदेखि काठमाडौँ पुग्न कोचिएर जानेसमेत ठाउँ नभएको बताए ।
जुम्ला चन्दनाथ नगरपालिकाकै बासिन्दा जगत् नेपालीले परिवारसहित यात्रामा हिँड्दा सँगै जाने टिकट नपाइएको दुःखेसो गरे । ‘पैसा तिरेर पनि आफूले सोचेको टिकट र भनेको ठाउँमा जान नपाइने कस्तो विडम्बना हो ?’ नेपालीले भने, ‘चाडअघि र चाडपछि हाम्रो यात्रा कहिल्यै सुखद भएन । शान्ति र स्वतन्त्रताका साथ यात्रा गर्ने दिन कहिले आउलान् ?’
जाजरकोट निवासी लोकेन्द्र रावलले गाडीको सिट पाउने कुरा धेरै परको भएको बताए । त्यसमा भएको मुढा त के कोचिएर जानेसम्म ठाउँ पाउन गाह्रो भएको उनको भनाइ थियो । यसरी पटक पटक दुःख खेपिरहनुपर्ने नागरिकको अधिकार र सेवाका विषयमा तीनै सरकारको कुनै चासो नहुँदा एकातिर नागरिक ठगिने र अर्को्तिर बिचौलिया मोटिने काम भइरहेको उनले औँल्याए ।
यस्तो बेला ज्येष्ठ नागरिक, गर्भवती, अपांगता भएका, व्यक्ति र बालबालिकालाई बढी सकस हुने हुँदा सरोकार पक्षको ध्यान जानुपर्ने नेपाल ल क्याम्पस काठमाडौँमा दोस्रो वर्षमा अध्ययनरत रमेशकुमार सिंहले सुझाव दिए । सिंहले भने, ‘जुम्लाबाट ठूलो संघर्ष गरेर सुर्खेत झरियो । अब काठमाडौँको गाडी टिकट पाउन अझै चार दिन कुर्नुपर्ने भयो ।’

यात्रु कामना बोहोराले यस्ता यात्राले महिला बढी हिंसामा पर्ने गरेको दुःखेसो गरे । गाडी व्यवसायीले यात्रु खचाखच हुने गरी हाल्दा यात्रा जोखिमपूर्ण बन्ने खतरा बढेको उनको भनाइ थियो । क्षमताभन्दा बढी यात्रु बोक्दा शनिबार कर्णाली राजमार्गअन्तर्गत कालीकोटको दही खोलामा भे१ख २४०६ फोर्स गाडी दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक यक्षराज जोशीका अनुसार घटनामा घाइते वीरेन्द्रनगर सुर्खेत निवासी चालक प्रदीप कसेराको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै गाडी साहु वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका राजेश विष्ट र तिलागुफा नगरपालिका कालीकोटका तुले बोहोराको सुर्खेतमा उपचार भइरहेको छ । दशैँतिहारपछि यात्रु संख्या ह्वात्तै बढ्नु नै यात्रुले गाडी टिकट सहजै पाउन नसक्नुको मुख्य कारण भएको हिल्सा यातायात प्रालि सुर्खेतका सचिव जीवन शर्माले राससलाई जानकारी दिए ।
यात्रुको चाप बढे पनि तोकिएको रु एक हजार ७४२ भाडादरमा रु एक हजार ५०० सम्ममा पनि यात्रुलाई सेवा दिने गरिएको सचिव शर्माको भनाइ थियो । रासस

प्रतिक्रिया दिनुहोस्