Logo
Logo

राजस्व नउठेपछि अर्थमन्त्रीको तनाव


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १९ कात्तिक । अर्थमन्त्रालयका सचिव राजन खनालले समायोजन भएका कर्मचारीको पदस्थापन पनि गर्न नसकेपछि अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व सचिवमा शिशिरकुमार ढुंगानालाई ल्याएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भन्सार र करका गरी करिब १ हजार ५ सय कर्मचारी सबैको संघमा समायोजन ग¥यो । तर असोज १० भित्र ती समायोजन भएका कर्मचारीको पदस्थापन गरिसक्नुपर्नेमा सचिव खनालले सकेनन् । २ बर्ष अवधि पुगिसकेका र समायोजन भइसकेका कर्मचारीको पदस्थापन नगर्दा राजस्व असुली नै प्रभावित भएको छ । चालु आर्थिक बर्ष २०७६–०७७ मा ११ सय अर्ब १३ करोड राजस्व असुलीको लक्ष्य अर्थमन्त्रालयले निर्धारण गरेको छ । तर २०७६–०७७ को प्रथम त्रैमासिक (साउन–असोज)सम्म लक्ष्यभन्दा धेरै कम राजस्व असुली भएको छ ।

चालु आवमा करिब ५६ अर्ब रुपैयाँ लक्ष्यभन्दा कम राजस्व असुली भएको छ । कात्तिक १५ सम्मको हिसाब गर्दा त ६८ अर्ब नै कम असुली भएको अर्थमन्त्रालयका एक अधिकारीले जानकारी दिए । समायोजन भएका कर्मचारीले पदस्थापन हुने निश्चित भएपछि कार्यसम्पादन राम्रोसँग नगर्ने कुरा स्वभाविक हो, मन्त्रालयले पदस्थापन समयमा गर्न सकेन । जसका कारण राजस्व असुली प्रभावित हुन पुग्यो, अर्थका अधिकारीले भने । राजस्व असुली लक्ष्यअनुसार नभएपछि अर्थमन्त्री तनावमा परेका छन् । र, उनी आयात घटेको र निर्यात बढेकाले राजस्व लक्ष्यअनुसार असुली नभएको भन्न थालेका छन् । वास्तवमा यो सत्य होइन । तथ्यांकमा खेल्न माहिर अर्थमन्त्री खतिवडाले बेला–बेला गलत तथ्यांक र तर्क दिएर जनता झुक्याउने गरेका छन् ।

सचिव खनालको अकर्मन्यताले गर्दा कर्मचारीको सरुवा हुन नसकेपछि मन्त्री खतिवडाले ढुंगानालाई ल्याएको बताइन्छ । ढुंगानाले कर्मचारीको पदस्थापनका लागि प्रक्रिया त सुरु गरेका छन् । उनले सामान्य प्रशासन मन्त्रालय मन्त्रालयसँग सहमति लिनका लागि पहल गरेका छन् । असोज १० सम्म पदस्थापन गरेको भए सामान्य प्रशासन मन्त्रालयको सहमति आवश्यक पर्दैनथ्यो ।

यसैबीच, सचिव खनालले मन्त्रालयका केही उपसचिवलाई समेत विनाजिम्मेवारी महिनौंदेखि बरन्डामा हाजिर गराउँदै आएका छन् । जबकि विनाजिम्मेवारी राख्न कानुनतः पाइँदैन । त्यसो त कर्मचारी सरुवामा अक्षम सचिव खनाल अवकाश हुनुअघि नै राष्ट्रबैंकको गभर्नर र समावेशी आयोगको अध्यक्ष नियुक्ति हुने दाउमा रहेको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्