Logo
Logo

प्रदेश नं ५ को केन्द्र दाङ : अध्यक्ष दाहाल


- दृष्टि न्युज/संवाददाता


घोराही, २० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले प्रदेश नं ५ को केन्द्र दाङ बन्ने बताएका छन् । उनले भौगोलिक, आर्थिक र पछिल्लो विकासको क्रमलाई मूल्यांकन गर्दा प्रदेशको केन्द्र दाङ हुने दावी गरे ।
प्रेस संगठनले बुधबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यहाँको राजनीतिक, शैक्षिक, स्वास्थ्य र पूर्वाधारमा भइरहेको विकासले दाङलाई नेपालकै केन्द्र बन्न आधार तयार पारेको जिकिर गरे ।
अध्यक्ष दाहालले सरकारले केही दिनअघि गरेको प्रदेश प्रमुखको नयाँ नियुक्तिलाई समेत सामान्य भएको बताए । उनले भने, ‘सरकारले लचिलो भएर मात्रै उहाँहरुलाई दुई वर्ष काम गर्न दिएको हो, होइन भने पहिले नै पदमुक्त गर्न सकिन्थ्यो, सबैसँग मिलेर जाऊँ भनेर केही समय काम गर्न दिएको हो ।’
उनले उपनिर्वाचन सफल बनाउन नेता÷कार्यकर्तालाई लाग्न अनुरोध गर्न आफू यहाँ आइपुगेको बताए । ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, उनले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’ नेकपा दाङले आज तुलसीपुरमा आयोजना गर्ने बृहत् कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन उनी दाङ आएका हुन् ।
नेकपाका जिल्ला इञ्चार्ज जीवन गौतमका अनुसार प्रचण्डसँगै पूर्वसभामुख एवं पार्टीकी नेतृ ओनसरी घर्ती, पार्टी प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेल पनि दाङ आएका छन् ।

प्रतिक्रिया दिनुहोस्