Logo
Logo

डिआइजी बढुवामा मारामार



काठमाडौं । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले पदबहाली गरेको दोस्रो दिनमै एआइजी बढुवा निकाल्न सफल भएका छन् । सोमबार चार डिआइजीको एआइजीमा बढुवा सिफारिस भएको छ । सिफारिसमा बरियतामा अघि रहेका चार जना डिआइजी परेका छन् ।

सन्दीप भन्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआइजीमा बढुवा सिफारिस गरिएको छ । वरियताअनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा आइजिपी सफल भएका छन् ।

यो बढुवाले एआइजी दीपक थापालाई भने चुनौती थपिएको छ । दुई वर्षपछि आइजिपी नियुक्ति गर्दा उनका दुई प्रतिस्पर्धी थपिएका छन् । बढुवा सिफारिस भएका गिरी र तामाङ उनीसँगै २०५२ को भदौमा भर्ना भएका हुन् । जसअनुसार अबको आइजिपीका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ ।

सो ब्याचका केही अधिकृतहरु भने डिआइजीबाटै अवकाश हुने जोखिम बढेको छ । जसमा उमेशराज जोशी, रामदत्त जोशी, भीम ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणालगायत छन् ।

अबको चासो डिआइजी बढुवामा छ । डिआइजीका १३ पद रिक्त छन् । जसमा १८ एसएसपीबीच प्रतिस्पर्धा छ । वरियताअनुसार जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली र कृष्णहरी शर्मा पोखरेल अगाडि छन् ।

साथै चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल पनि प्रतिस्पर्धामा छन् । विगतमा पछि परेका खनाल अहिले बढुवा नभए एसएसपीको उमेरहदका कारण वैशाखमा अवकाश पाउँछन् । त्यसकारण उनलाई बढुवा दिनैपर्ने बाध्यता छ । डिआइजीमा वरियताभन्दा कार्यक्षमता हेरिने सम्भावना छ ।

डिआइजीसँगै एससपी बढुवामा पनि मारामार हुने सम्भावना छ । अब एसएसपी हुनेमध्येबाट पाँच वर्षपछि आइजिपी चयन हुने भएकाले पहिलो स्थानमा पर्न प्रतिस्पर्धा छ ।

यसअघि केपी शर्मा ओली सरकारको पालामा भएको बढुवामा सानुराम भट्टराईले पहिलो नम्बरमा बाजी मारेका थिए । उनीपछि ओम अधिकारी, विश्वमणि पोख्रेल, शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दिनेशराज मैनाली, कृष्ण पल्लीमगर, भूपेन्द्र खत्री, गंगा पन्त, गोपालचन्द्र भट्टराई, रवि पौडेल, बेल पान्डे, दीपशम्शेर जबरा, प्रवीण पोखरेल, वसन्त रजौरेलगायत छन् । अघिल्लो बढुवामा पछि परेकाहरु यसपटक अगाडि तानिने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्