Logo
Logo

प्रहरी महानिरीक्षकलाई भ्रष्टाचारको चुनौती



काठमाडौं । इमान्दार छवि भएका र वरियतामा पनि पहिलो नम्बरमा रहेका वसन्तबहादुर कुँवरलाई महानिरीक्षकमा नियुक्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विगतमा जस्तो आइजिपी काण्डमा मुछिएनन् । प्रहरीले पनि एक असल नेतृत्व पाएको छ ।

पदबहालीपछि बोल्दै नवनियुक्त आइजी कुँवरले संगठनको आन्तरिक शुद्धीकरण आफ्नो पहिलो र मूल प्राथमिकता हुने बताएका छन् । तर, यो काम उनका लागि निकै चुनौतीपूर्ण हुने देखिन्छ ।

प्रहरी अस्पतालमा उनको प्रतिबद्धतालाई सिधा चुनौती दिँदै हाल करोडौंको खरिद ठेक्काको काम भइरहेको छ । एआइजी डा. आशा सिंह र मेडिकल व्यापारी मिलेर लक्स स्पेशिफिकेसनका आधारमा करोडौं कमिसनको खुलेआम चलखेल भइरहेको छ ।

लक्स स्पेशिफिकेसनकै आधारमा अस्पतालले सि–आर्म मेसिन खरिद प्रक्रियाको सम्झौता अघि बढाएको छ । हाल एफपिडी प्रविधिको सि–आर्म आइसकेकोमा अस्पतालले मिलेमतोका आधारमा सिसिडी प्रविधिको सिआर्म उच्च मूल्यमा खरिद गर्न लागेको हो ।

जिआइ कम्पनीको सि–आर्मसँग मिल्ने स्पेशिफिकेसन बनाएर ठेक्का भएको हो । जसअनुसार वास्तविकभन्दा दोब्बर मूल्यमा खरिद गर्न लागिएको छ । जिआइका प्रतिनिधि विमल उप्रेती र अस्पतालका अधिकारीबीच कमिसनमा डिल भएर सो खरिद हुन लागेको हो । ७० लाख पर्ने मेसिनलाई एक करोड १८ लाखमा खरिद गर्न लागिएको छ ।

त्यस्तै, २९ करोड २० लाख रुपैयाँमा एमआरई खरिदमा पाँच करोड कमिसनको डिल भइसकेको छ । सिमेन्स नामक चिनियाँ कम्पनीको नेपाल एजेन्ट रहेको इष्टवेष्ट कन्सर्नसँगको मिलेमतोमा एअमआरईमा अनियमितता हुन लागेको हो । अन्य कम्पनीको एमआरइ प्राविधिक रुपमा पास नै हुन नसक्ने गरी टेन्डर डकुमेन्ट बनाएर लागत मूल्यमै खरिद गरी भ्रष्टाचार हुन लागेको हो । प्रि–बिड बैठकमा व्यवसायीहरुले बुँदा–बुँदामा लक्स स्पेशिफिकेन रहेको भन्दै विरोध गरेका थिए । तर, पनि अस्पतालले टेन्डर प्रक्रिया सच्याएन ।

यस विषयमा अख्तियारमा समेत उजुरी परेपछि धेरै कमिसन भएकाले अख्तियारलाई समेत मिलाउने प्रयास भइरहेको छ । यसरी अस्पतालमा भइरहेको खुलेआम भ्रष्टाचार नवनियुक्त आइजिपीको लागि चुनौतीको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्