Logo
Logo

समलिंगी विवाहलाई कानूनी मान्यता दिन माग


- दृष्टि न्युज/संवाददाता


रुपन्देही, २१ कार्तिक । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले समलिंगी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिंगी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् ।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको सवालमा नीलहिरा समाजको आयोजना तथा मधेश मानवअधिकारको सहयोगमा बुधबार बुटवलमा गरिएको प्र्रदेशस्तरीय नीतिगत बहसमा सहभागी यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका प्रतिनिधिहरुले तेस्रोलिंगीलाई विवाहको कानूनी मान्यता नहुँदा एक्लै जीवनयापन गर्नुपरेको गुनासो गरे ।
सो अवसरमा प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । उनले यो समुदायको हकअधिकार र सशक्तीकरणका लागि मन्त्रालयले बजेट विनियोजन गरेको जानकारी दिए ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल र दीपा विकले प्रदेशको नीति बनाउँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका सवालहरु सम्बोधन हुने किसिमले बनाउने बताए । माहुरी होमका अध्यक्ष रवि ठाकुरले यौनिक तथा अल्पसंख्यकहरुको पहिचान दिलाउन सरकार अग्रसर हुनुपर्नेमा जोड दिए ।
एक्लोलाई सहारा दिने वृक्ष समूहका कार्यक्रम संयोजक मनिला न्यौपानेले समलिंगी विवाहलाई कानूनी मान्यता नहुँदा घरजम गर्ने अधिकारबाट बञ्चित हुनुपरेको गुनासो गरे । महिला र पुरुषबीचको विवाह मान्य हुने तर हामीले विवाह गर्न किन नपाउने ? उनले प्रश्न गरे ।
नील हिरा समाजका रुपन्देही अध्यक्ष आनिक रानाले इच्छ्याएको र चाहेको व्यक्तिसँग जीवनयापन गर्ने व्यक्तिको अधिकार भएकाले तेस्रोलिंगीलाई पनि यो अधिकार दिलाउन माग गरे । ‘तपाईं मरेपछि त तपाईंका सन्तानले कीरिया गर्ला तर हामी मरेपछि कसले अन्तिम संस्कार गर्छ ?’, उनले भने, ‘हाम्रो समस्याको सुनुवाइ होस् ।’ रासस

प्रतिक्रिया दिनुहोस्