Logo
Logo

उपनिर्वाचन २०७६ : कास्कीमा बढ्यो चुनावी सरगर्मी


- दृष्टि न्युज/संवाददाता


पोखरा, २१ कार्तिक । उम्मेदवार मनोनयन दर्तासँगै प्रतिनिधिसभा क्षेत्र नं २ को उपनिर्वाचनको सरगर्मीले कास्कीको वातावरण तातेको छ ।
आगामी मंसिर १४ गते हुने उपनिर्वाचान को उम्मेदवार हुने र कसले जनताको मन जितेर आफ्नो पोल्टामा विजयको माला लगाउने भन्ने चर्चा परिचर्चासँगै राजनीतिमा देखिएको नयाँ आयामको बहससमेत भइरहेको छ । राजनीतिमा पुरानो पृष्ठभूमिका अग्रजदेखि नयाँ र युवा उम्मेदवारको कारणले पनि कास्कीमा चुनावी चर्चा बढी भइरहेको छ ।
कास्कीमा हालसम्म ६ पार्टीले मात्रै औपचारिक रुपमा आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन् । नेकपाले विद्या भट्टराई, नेपाली कांग्रेसले खेमराज पौडेल, साझा पार्टीले रजनी केसी, विवेकशील नेपाली दलले जमुना शर्मा, राप्रपाले रोम भण्डारी र समाजवादी पार्टीले धर्मराज गुरुङलाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ ।
उम्मेदवारको टुंगो लागेसँगै कास्कीका ठूला तथा साना दलले निर्वाचन अभियानलाई तीव्र बनाएका छन् । यसै सन्दर्भमा नेकपाका उम्मेदवार भट्टराईले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको जन्म स्थान भरतपोखरीबाट अग्रजको आशीर्वाद लिएर चुनावी अभियानको शुरुआत गरेको छ ।
कांग्रेसले मनोनयन दर्तापछि चुनावी अभियानलाई व्यापक बनाउने बताएको छ । त्यसैगरी साझा, विवेकशील, राप्रपा र समाजवादीले पनि निर्वाचन परिचालन समिति बनाएर आफ्नो चुनावी अभियानलाई सशक्त बनाएको बताएका छन् । उक्त क्षेत्रमा ७१ हजार ८७१ मतदाता तथा ३२ मतदानस्थल र ८२ मतदान केन्द्र छन् ।

प्रतिक्रिया दिनुहोस्