Logo
Logo

देवघाटधाम स्नान गर्ने भक्तजनको भीड


- दृष्टि न्युज/संवाददाता


चितवन, २२ कार्तिक । चितवनका विभिन्न क्षेत्रमा आज बिहानैदेखि एकदशी मेला लागेको छ । देवघाटधाम, पूर्वी चितवनको चित्रसारी, मझुई, माडीको सिधुवा, गोलाघाट, पटिहानीको सुन्दरबस्तीमा मेला लागेको छ । आज बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको छ ।
बाँसको लिंगो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने देवघाट क्षेत्र विकास समितिका सदस्य नवराज ढकालले जानकारी दिए । उनले चितवन, नवलपरासी र तनहुँ जोड्ने गरी तोरन टाँगिएको बताए । देवघाटमा आउने भक्तजनलाई स्नानका लागि सुरक्षित ठाउँ निर्माण गरिएको उहाँको भनाइ छ । देवघाटमा लाग्ने मेलामध्ये एकादशी मेला पनि प्रमुख हो ।

worshippers at Devghat

यस्तै पूर्वी चितवनको चित्रसारीमा पनि एकादशी मेला लागेको छ । विशेषगरी थारू समुदायले परम्परागत रुपमा मनाउँदै आएको चित्रसारीमा बिहीबारदेखि नै मेला लागेको हो । मेलामा थारू समुदायसँग सम्बन्धित संस्कृति र परम्पराका वस्तुहरु राखिएको छ । पहिले थारू समुदायको मात्र सहभागिता रहने चित्रसारी मेलामा अहिले अन्य समुदायका मानिसको पनि भीड लाग्ने गरेको छ ।

यस्तै थारू समुदायको बाक्लो उपस्थिति रहेको पूर्वी चितवनको खैरहनी–७ मझुईको ब्रह्मथानमा पनि मेला लागेको छ । थारूहरुले मान्दै आएको ब्रह्मथान (मन्दिर)मा एकादशीको दिन पूजासँगै नाचगान गर्ने प्रचलन रहेको छ ।


ब्रह्मथानमा भाकल गरिने भएकाले प्रत्येक वर्ष ठूलो संख्यामा स्थानीयवासीको उपस्थिति रहने स्थानीयवासी दीपेन्द्र चौधरीले बताए । उनले भने, ‘एक वर्ष ब्रह्मथानमा पूजा र नाचगान नगरेका कारण गाउँमा महामारी फैलियो, त्यसपछि प्रत्येक वर्ष नियमित रुपमा पूजाआजा र नाचगान हुने गरेको छ ।’ आजको दिन थारू युवाहरु व्रतसमेत बस्ने गरेका छन् ।
हरिबोधिनी एकादशी, भगवान् विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।

प्रतिक्रिया दिनुहोस्