Logo
Logo

प्रहरीमा पुरानै गिरोह सक्रिय



काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवर सुरुदेखि नै शक्तिकेन्द्रको दबाबमा परेका छन् । प्रदेश प्रमुखहरुमा उनको सरुवामा अडान लिन नसकेको भनेर उनी आलोचित बन्न पुगेका छन् ।

पाँच प्रदेशका प्रहरी प्रमुख रिक्त भएकोमा त्यसमध्ये तीन वटामा एसएसपी निमित्त प्रदेश प्रमुखको जिम्मेवारी दिएका छन् । डिआइजी हुँदा हुँदै शक्तिकेन्द्रका निकट रहेका एसएसपीहरुलाई यसरी महत्वपूर्ण प्रदेशको जिम्मेवारी दिएपछि उनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन थालिएको छ ।
कोशी प्रदेशमा एसएसपी राजेश बाँस्तोला, मधेसमा एसएसपी जनक भट्टराई तथा सुदुरपश्चिममा भरतबहादुर बोहरालाई पठाइएको छ । तीनै जनाले यसअघि शेरबहादुर देउवा सरकारमा अवसर पाउँदै आएका थिए । अहिले पनि सोही गिरोहले उनीहरुलाई प्रदेश प्रमुख बनाएको स्रोत बताउँछ ।

जनक भट्टराई कांग्रेस सांसद मञ्जु खाँणकी निकटस्थ हुन् । सोही कारण उनले काठमाडौं अपराध अनुसन्धान कार्यालयमा जिम्मेवारी पाएका थिए । जहाँ उनले एउटै राम्रो काम गर्न सकेनन् । तर, अहिले सोही समूहले उनलाई मधेस प्रदेशमा खटाएको छ । बोहरा पनि कांग्रेसकै सिफारिसमा प्रदेशमा खटिएका छन् ।

गत असारमै बढुवा भएका दुर्गा सिंह लगायतले प्रदेशको जिम्मेवारी नपाउँदा यसरी एसएसपीलाई प्रदेश प्रमुखमा खटाइएकोमा प्रहरी नेतृत्व र गृह मन्त्रालयको आलोचना भएको छ । कांग्रेसकै दबाबमा कुँवर आइजिपी भएकाले त्यही समूहले यसरी आफु अनुकुल निर्णय गराउन दबाब दिएको बताइन्छ ।

आइजिपीको अर्काे परीक्षा अब डिआइजी बढुवामा छ । डिआइजीमा १३ पद रिक्त छन् जसमा १८ एसएसपी प्रतिस्पर्धामा छन् । जनक भट्टराई, विष्णु कुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुमार खापुङ, अर्जुनचन्द ठकुरी, सुरेन्द्र मैनाली कृष्णहरी शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल, मोहनप्रसाद पोख्रेल, विकासराज खनाल छन् ।

उनीहरुमध्ये सुरेन्द्र मैनाली चक्रबहादुर सिंह र विकाराज खनाल बढुवा नभए एसएसपीमै उमेरहदका कारण अवकाश पाउने भएकाले उनीहरुलाई जसरी पनि बढुवा गनुपर्ने दबाब छ । अन्य १० सिटमा १५ जनाबीच चर्काे प्रतिस्पर्धा छ ।

जसरी विगतमा आरजु देउवा र मञ्जु खाँणको समूहले प्रहरीलाई परिचालन गरेको थियो, त्यही समूह अहिले फेरि हावी हुन खोजेको चर्चा प्रहरीमा छ । आफुहरुले आइजिपी नियुक्ति गरेको भन्दै उनीहरुले चलखेल सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्