Logo
Logo

कालापानीलाई जोडेर नापी विभागका महानिर्देशकको नाममा भ्रमपूर्ण प्रचार


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ कात्तिक । सामाजिक संजालको दुरुपयोग बढिरहेको छ । कालापानी क्षेत्रभित्रका कालापानी, लिपुलेक र लिम्पियाधुरा निर्विवाद ढंगले नेपालका भूभाग हुन् भन्ने कुरा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रष्ट पारिसकेका छन् । नापी विभागका महानिर्देशक प्रकाश जोशीले ती भूभाग नेपालकै भएका प्रमाण नै दिइरहेका छन् । तर सामाजिक संजालमा महानिर्देशक जोशीले कल्पनै नगरेका कुरा उनले भनेको भनेर एक समूहले भ्रमपूर्ण प्रचारबाजी गरेका छन् ।

सामाजिक संजालमा भ्रमपूर्ण प्रचार गरिएपछि नापी विभागका महानिर्देशक जोशीले विज्ञप्ति नै जारी गरेका छन् । सोमबार जोशीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ–विभिन्न सामाजिक संजालमा नापी विभागका महानिर्देशकको नाम जोडेर भारतले हालसालै प्रकाशित गरेको राजनैतिक नक्सा सम्बन्धमा लेखिएको र देखिएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । साथै नेपालका राजनीतिक दलका शीर्षनेताहरुसँग समेत मेरो नाम जोडेर आएका विषय कपोलकल्पित, निराधार र असत्य हुन् । मानमर्दन गर्ने र भ्रम सृृजना गर्ने गरी सामाजिक संजालमा पोष्ट गरिएका सवै विषयमा मेरो ध्यानाकर्षण भएको छ ।

यस्ता कपोलकल्पित, भ्रामक र अतिरंजित कुरामा विश्वास नगर्न पनि जोशीले आग्रह गरेका छन् । साथै भारत सरकारबाट प्रकाशित नक्सा सम्बन्धमा नेपाल सरकारको आधिकारिक धारणा परराष्ट्र मन्त्रालयको प्रेस विज्ञप्तिमा आइसकेको हुँदा तोकिएको जिम्मेवारी वहन गर्न प्रतिबद्ध रहेको व्यहोरा समेत अनुरोध गर्दछु, महानिर्देशक जोशीको विज्ञप्तिमा उल्लेख छ ।
सामाजिक संजालमा भ्रमपूर्ण प्रचार गर्नेहरुबिरुद्ध साइबर क्राइममा उजुरी गर्न पनि महानिर्देशक जोशीलाई गृहमन्त्रालयका अधिकारीले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्