Logo
Logo

नेपाली नयाँ वर्षको स्वागतमा अस्ट्रेलियामा आतिसबाजी



काठमाडौं । नेपाली नयाँ वर्ष २०८० को अवसरमा अस्ट्रेलियामा आतिसबाजी गरिने भएको छ । राजधानी क्यानबेरास्थित लेनक्स गार्डेन, फ्लिन ड्राइभमा आतिसबाजीसहित नयाँ वर्ष मनाउन लागिएको हो । सनातन समाज अस्ट्रेलियाले क्यानबेरामा आतिसबाजी गर्दै नयाँ वर्ष मनाउन लागेको हो । कार्यक्रम स्थानीय समयअनुसार २ बजे सुरु हुनेछ ।

कार्यक्रममा यातायात तथा सहरी सेवामन्त्री क्रिस स्टिल र कम्पिटिसन्स, च्यारिटि तथा ट्रेजरी सहायकमन्त्री डा. एन्ड्रयु लिह् प्रमुख अतिथिका रुमाप रहने छन् भने बिन क्षेत्र, एसिटिका सांसद् डेभिड स्मिथ अतिथिका रुपमा रहनेछन् ।

राजधानी क्यानबेरामा अध्ययन, रोजगारलगायत विभिन्न उद्देश्यले अस्ट्रेलिया पुगेका नेपालीहरुको उल्लेख्य बसोबास छ । अस्ट्रेलियामा नेपाल र नेपालीको छुट्टै पहिचान बनाउन नयाँ वर्षमा आतिसबाजी गर्न लागिएको सनातन समाज अस्ट्रेलियाका अध्यक्ष तथा कार्यक्रम संयोजक सन्तोष मल्लले जानकारी दिए ।

‘नेपाली र भारतीयको संस्कार, संस्कृति र चाडपर्वहरू समान छन् । त्यसैले नेपालीलाई पनि भारतीय नै मान्नेहरुको जमात ठूलै छ र हाम्रो आफ्नै पहिचान बन्नसकेको छैन,’ उनले भने, ‘नेपाली र भारतीय फरक हुन्, हाम्रो आफ्नै संस्कृति छ, चालचलनहरू छन्, आफ्नै पात्रो र नयाँ वर्ष छ भनेर जानकारी दिनलाई नयाँ वर्षलाई आतिसबाजीसहित विशेष दिनको मनाउन लागेका हौँ ।’

दसैं, तिहार, फागु पूर्णिमा लगायतका पर्व नेपाल र भारत दुवैतिर मनाइन्छस यसले नेपाली र भारतीय एकै हुन् भन्ने छाप परेको अध्यक्ष मल्लले बताए । तर, नयाँ वर्ष भने भारतमा इसवी संवतअनुसार जनवरीमा मनाइन्छ भने नेपालले विक्रम संवत्अनुसार वैशाखमा मनाउने गरेको छ ।

कायृक्रममा नेपालको संस्कृति झल्कने झाँकी, लाइभ म्युजिक, फुड स्टलहरू, डिजे सेसन तथा किड्स पार्कको मजा पनि लिन सकिने अध्यक्ष मल्लले जानकारी दिए । सनातन समाज अस्ट्रेलियाले अघिल्लो वर्ष पनि नेपाली नयाँ वर्षलाई आतिसबाजीसहित स्वागत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्