Logo
Logo

प्रहरीले शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्छ : गृहमन्त्री


1.3k
Shares

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरीले अब गरिब, दलित, पिछडिएको, शक्ति केन्द्रमा धाउन नसक्ने जनतालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले गृह प्रशासन र प्रहरीमा यसअघि रहेको धारणा नै परिवर्तन गर्न आवश्यक रहेको बताए । ‘ठूलाबडा, सम्पन्न धनीमानी, पहुँच भएका, शक्ति केन्द्रमा जान सक्नेको कुरा सुन्ने, उनीहरुले भेटघाट गर्न पाउने तर सर्वसाधारणले भेटघाट गर्न नै नपाउने एप्रोच नै चेन्ज गर्नुपर्छ’ गृहमन्त्री श्रेष्ठले भने ।

यस्तै, उनले सुरक्षा निकायलाई दबाव र चलखेलबाट मुक्त गर्ने बताए । मंगलबार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले सुरक्षा निकायलाई शक्ति केन्द्र र राजनीतिक दबावबाट मुक्त राख्ने बताए । उनले भने, ‘अवान्छित चलखेलबाट मुक्त राखिन्छ ।’

सुरक्षा निकाय हाम्रो गौरव हुुनुपर्ने भन्दै उनले सुरक्षा निकायमा निष्पक्षता कायम गर्ने बताए । ‘सुरक्षा निकायमा काम गर्ने साथीहरुको मनोबल गिर्‍यो, ममाथि निष्पक्ष व्यवहार भएन भन्न पर्‍यो भने मनोबल उठ्दैन’, उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले भने, ‘त्यसकारण सिस्टम स्थापित गर्ने र निष्पक्षताका आधारमा पदस्थापन, बढुवा र सरुवा गरिन्छ ।’ गृह प्रशासनमा विचौलियाको भूमिकालाई शून्यमा झार्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्