काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले भूमिहीनलाई छिट्टै जग्गाधनी बनाउने बताएकी छन् । भूमिहीन नागरिकले जमिन पाउनुपर्ने र गाउँलाई सम्पन्न बनाउनैपर्ने बताईन् ।

काठमाडौं उपत्यकाभित्रै बसोबास गर्ने हजारौं नागरिक अझै पनि भूमिहीन र लालपुर्जाविहीन रहेको भन्दै मन्त्री श्रेष्ठले उक्त समस्या समाधानका लागि एक कार्यदल बनाएर छिट्टै काम शुरु गर्ने विश्वास व्यक्त गरिन् ।
कमैया, कमलरीले लामो समयदेखि लालपुर्जा पाउन नसकेकाले उनीहरुको समस्या समाधानका लागि पहल थाल्ने उनले जानकारी दिईन् । राष्ट्रिय भूमि आयोगमार्फत पनि केही समस्या समाधान हुने भनाई थियो ।
सुकुम्वासी समस्या समाधानका लागि आयोगले काम कारबाही भइरहेको र त्यसका लागि सबैको सार्थक सहयोग जरुरी रहेको मन्त्री श्रेष्ठको भनाइ छ । जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थालाई समयानुकूल बनाउन मन्त्रालयले कार्ययोजना बनाएर लागू गर्ने उनले बताईन् ।
मन्त्री श्रेष्ठले जग्गाको कित्ताकाटका सम्बन्धमा स्थानीय निकायले नै भूमिका निर्वाह गर्नुपर्ने उल्लेख गर्दै सङ्घीय सरकारलाई सहयोगका लागि माग भई आएमा सहजीकरण गरिने बताइन् । दैलेखलगायतका विभिन्न जिल्लामा रहेको गुठीको जग्गाको उचित व्यवस्थापनका लागि गुठी ऐनको मस्यौदा तयार भएको र सोही ऐनमार्फत समस्या समाधान हुने मन्त्री श्रेष्ठको भनाई छ । ।











