Logo
Logo

अनुदानको नाममा हिक्मतले सय दिनमा बाँडे २० करोड 


3.4k
Shares

काठमाडौं । कोसी प्रदेश सरकारले एक सय दिनको अवधिमा २० करोड भन्दाबढी रकम अनुदान तथा राहतको नाममा वितरण गरेको छ ।

गत पुस २५ गते मुख्यमन्त्री बनेका हिक्मत कार्कीले आज (मंगलबार) एक सय दिनको अवधिमा गरिएको कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको सरकारको कार्य उपलब्धि विवरणअनुसार यो अवधिमा प्रदेश सरकारले अनुदान र राहतको नाममा २० करोड रुपैयाँभन्दा बढी बाँडेको देखिन्छ । 


उपलब्धि विवरणअनुसार यो अवधिमा सरकारले जनयुद्ध, दोस्रो जनआन्दोलन, मधेस आन्दोलन, आदिवासी जनजाति आन्दोलनको क्रममा सहादत प्राप्त व्यक्तिका परिवारलाई १४ वटै जिल्ला प्रशासन कार्यालयमार्फत प्रतिपरिवार एक लाख रुपैयाँ वितरण गरेको छ । कोसी प्रदेशमा एक हजार ४५० परिवारलाई जम्मा रकम १४ करोड ५० लाख रुपैयाँ वितरण गरिएको छ ।

यसैगरी विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनर्स्थापनाका लागि भोजपुरका विभिन्न पालिकाका ३९ परिवारलाई ९ लाख २५ हजार रुपैयाँ,  सङ्खुवासभाको विभिन्न पालिकाका ९२ परिवारलाई ८२ लाख ८० हजार रुपैयाँ,  धनकुटाका ५५ परिवारलाई ४१ लाख २५ हजार रुपैयाँ,  झापाका एक परिवारलाई ३० हजार रुपैयाँ र खोटाङका एक परिवारलाई ३० हजार रुपैयाँ गरी जम्मा एक करोड ५३ लाख ९० हजार रुपैयाँ वितरण गरिएको छ । यो रकम प्रदेशका सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराइएको मुख्यमन्त्री कार्कीले बताए ।

यसैगरी उत्पादनका आधारमा अनुदान उपलब्ध गराउने नीतिअनुरुप प्रदेशमा पहिलो पटक दूध उत्पादनको आधारमा अनुदान वितरण गरिएको सरकारले जनाएको छ ।

कार्यक्रमअन्तर्गत व्यवसायिक रुपमा दूध उत्पादन गर्ने १६ हजार ९५ कृषकहरूलाई प्रतिलिटर दुई रुपैयाँका दरले एक करोड १७ लाख रुपैयाँ रकम उपलब्ध गराइएको बताइएको छ ।

आगलागीजन्य विपद्बाट घर क्षति भएका ५८ पीडित परिवारलाई २५ लाख ४० हजार रुपैयाँ र मृत्यु भएका ९ परिवारलाई ९ लाख रुपैयाँ राहत रकम उपलब्ध गराइएको मुख्यमन्त्री कार्कीले सुनाए ।

स्थानीय तहसँगको साझेदारीमा नमुना माध्यमिक विद्यालय विकास कार्यक्रमका लागि विभिन्न स्थानीय तहका १३ वटा नमुना विद्यालय अनुदान दिइएको छ ।

यसैगरी प्रत्येक जिल्लाका दुई वटा आधारभूत विद्यालय गरी जम्मा २८ वटा विद्यालयलाई स्थानीय तहको साझेदारीमा नमुना बालमैत्री विद्यालय विकासका लागि सम्बन्धित स्थानीय तहमा अनुदान प्रदान गरिएको जनाइएको छ ।

उत्कृष्ट व्यवस्थापन भएका १३ वटा सफल सामुदायिक आधारभूत विद्यालय र १४ वटा माध्यमिक विद्यालयलाई प्रोत्साहन अनुदान पनि प्रदान गरिएको मुख्यमन्त्री कार्कीले बताए ।

यसैगरी प्रदेशमा सूचिकृत भई सञ्चालनमा रहेका १६ वटा बाल कल्याण गृह, आठ वटा वृद्धाश्रम, ५१ वटा ज्येष्ठ नागरिक, १० वटा ज्येष्ठ दिवा सेवा केन्द्र पूर्वाधार विकास केन्द्र÷मिलन केन्द्र तथा १६ वटा हिंसा पीडित महिला अल्पकालीन सुरक्षित आवास गृह संरक्षणका लागि संस्थागत अनुदान प्रदान गरिएको मुख्यमन्त्री कार्कीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

विपन्न, दलित तथा सीमान्तकृत समुदायका महिलाहरूको आर्थिक सशक्तिकरणको लागि विभिन्न जिल्लाका २० वटा स्थानीय तहहरूमा आर्थिक आत्मनिर्भर कार्यक्रमका लागि अनुदान पठाइएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्