काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनले जित्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) व्यास नगर समितिले आज दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपालमा भएका हरेक किसिमका परिवर्तनको रक्षाका लागि वर्तमान गठबन्धनको विजय आवश्यक रहेको बताए ।
‘नेपालमा अहिले वैचारिक र राजनीतिकरूपले दुई धार देखिएको छ, मुलुकको अगाडि देखिएका चुनौतीको समाधानका लागि वर्तमान गठबन्धनको विजय आवश्यक पर्दछ’, उनले भने, ‘लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजय अपरिहार्य छ ।’ वर्तमान व्यवस्थालाई विस्थापित गर्ने प्रयत्न भएको बताउँदै महासचिव गुरुङले अहिलेको उपनिर्वाचनको मात्र प्रश्न नभएको उल्लेख गरे । ‘यो चुनावको कुरा मात्र होइन, नेपालमा देखिएका चुनौतीको समाधान गर्ने कुरा पनि हो’ गुरुङले भने, ‘प्रतिगामी दिशातर्फ अगाडि लैजान खोज्ने प्रवृत्तिलाई उपनिर्वाचनमा पराजित गर्नुपर्छ ।’
महासचिव गुरुङले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि पनि गठबन्धन आवश्यक परेको बताउँदै अस्थिरता सिर्जना गरेर राष्ट्रिय स्वाधीनता कमजोर बनाउने प्रयास भइरहेकाले सचेत हुन आग्रह गरे । कुशासन र भ्रष्टाचार विकासमा बाधक भएकाले भ्रष्टाचारलाई शून्यमा झारेर सुशासन दिनुको विकल्प नभएको उनको भनाइ थियो । “यसका लागि पनि गठबन्धनले जित्नु आवश्यक छ, वर्तमान सरकार भ्रष्टाचारलाई शून्यमा पु¥याएर सुशासन कायम गर्न प्रतिबद्ध छ”, गुरुङले भने ।
महासचिव गुरुङले समाजवाद उन्मुख अर्थतन्त्रको विकास गरिने उल्लेख गर्दै आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्र निर्माण गर्ने सरकारको लक्ष्य रहेको बताए । ‘दलाल पूँजीवादका कारण अर्थतन्त्रमा समस्या आएको छ, युवाशक्ति वैदेशिक रोजगारमा जाने समस्या व्यापक छ, यसको समाधानका लागि पनि गठबन्धन आवश्यक छ’, गुरुङले भने ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले तनहुँ क्षेत्र नम्बर १ का लागि गोविन्द भट्टराई उपयुक्त उम्मेदवार भएको बताए । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान गठबन्धनको सरकार पाँच वर्ष चल्ने र आर्थिक विकासका आधार तयार गरिने बताए । उनले गठबन्धनलाई स्थिरताको खुड्किलाका रूपमा अगाडि बढाइने उल्लेख गरे ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासमा तिर्खाएको तनहुँवासीको तिर्खा मेटाउने योजना रहेको बताए ।
गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोलगायतको विकासको सपना पूरा गर्ने योजनासहित उम्मेदवार बनेको उनले बताए । पाँच वर्षभित्र यस क्षेत्रमा आम्दानीका अवसरलाई दोब्बर बढाउने योजना रहेको उनको भनाइ थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीले वर्तमान गठबन्धनले नै देशको विकास गर्ने भएकाले गठबन्धनका पक्षमा मतदान गर्न आग्रह गरे । नेपाली कांगे्रसका केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले अहिले देशमा चुनौती रहे पनि सबै चुनौती गठबन्धनबाट समाधान गरिने उल्लेख गरे ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठले सङ्घीयताको स्थायित्व र लोकतन्त्रको संरक्षणका लागि गठबन्धन गरिएको भन्दै गठबन्धनको जित अपरिहार्य रहेको बताए । नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमानले उपनिर्वाचनमा गलत प्रवृत्ति र तत्व हावी भएकाले त्यसतर्फ सचेत हुनुपर्ने बताए ।











