Logo
Logo
टिप्पणी

सरकार असफल बनाउने खेलमा गगन !


4.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले अझै पूर्णता पाउन सकेको छैन । एमालेसहित सात दलीय गठबन्धन भत्काउन एकजुट बनेका कांग्रेस नेताहरू मन्त्रालय भागबन्डामा आपसमै नमिल्दा सरकार अपूर्ण बनेको हो ।

१० दलीय गठबन्धनमा कांग्रेसले सबैभन्दा बढी ८ मन्त्रालय पाएको छ । तर, आन्तिरक कलहका कारण कांग्रेसले दुई मन्त्री र एक राज्यमन्त्री छान्न अहिलेसम्म सकेको छैन । कांग्रेसले दुई चरण गरी ६ मन्त्री मात्रै सरकारमा पठाएको छ । शेखर–गगन पक्षको कारण सरकार विस्तारमा अड्कन पुगेको हो ।

तीन मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको शेखर–गगन पक्षलाई सभापति शेरबहादुर देउवाले दुई मन्त्रालय मात्रै छुट्याएका छन् । आफूहरूले मागेजति मन्त्रालय नपाएपछि शेखर–गगन पक्षले मन्त्री नपठाएको हो ।

प्रधानमन्त्री प्रचण्डले यथाशीध्र सरकारलाई पूर्णता दिएर सरकारलाई ट्रयाकमा ल्याउने बताउँदै आएका छन् । तर, सरकारलाई पूर्णता दिने विषय उनको हातमा छैन । सरकारलाई पूर्णता दिने विषयमा कांग्रेस नै वाधक बनेको छ । आन्तरिक विवादमा फसेको कांग्रेसले मन्त्री पठाउन नसक्दा सरकार विस्तारको समय लम्बिरहेको छ । र, सरकार ट्रयाकमा आउन सकेको छैन ।

सरकार विस्तार अनिश्चित बन्दा प्रधानमन्त्रीलाई नीति निर्माण र सेवा प्रवाहमा समस्या परेको देखिन्छ । यस विषयमा कांग्रेस पनि बेखबर छैन । तर, कांग्रेसका महामन्त्री गगन भने सरकारलाई सहयोग गर्नुको साटो उल्टै आलोचना गरिरहेका छन् । दबाब दिइरहेका छन् ।

सरकारलाई सबैभन्दा बढी दबाब दिने गगन नै हुन् । उनले आफ्नो कमजोरीको ढाकछोप गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भन्दा पनि बढी सरकारको आलोचना गरिरहेका छन् । सरकारलाई कसरी प्रभावकारी बनाउनेमा भन्दा पनि उनी सस्तो लोकप्रियताको पछि दौडिरहेको देखिन्छ ।

सस्तो लोकप्रियताका लागि भाषणबाजीमा उत्रिएका उनले प्रधानमन्त्री प्रचण्डको नेतृत्वप्रति बारम्बार प्रश्न उठाउँदै आएका छन् । उनको भाषणबाजीको केही उदाहरण हेरौं–

चैत्र २८
गत चैत्र २८ गते कांग्रेस निकट नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको उद्घाटन सत्रमा सरकारले अरुलाई दोष दिएर उम्कन नमिल्ने गगनले बताएका थिए । उनले भनेका थिए– ‘वर्तमान सरकारले एमाले र पूर्वराजालाई दोष दिएर उम्कन मिल्दैन, पाँच वर्षपछि जनतामाझ जाँदा यो–यो काम गर्यौँ भनेर जान सक्ने अवस्था बनाउनुपर्छ, परिणाममुखी काम गर्नुपर्छ ।’

चैत्र २४
गत चैत्र २४ गते प्रतिनिधिसभा बैठकमा नयाँ सरकारले उत्साह दिनुपर्नेमा निराशा दिएको भन्दै उनले टिप्पणी गरेका थिए । उनले भनेका थिए– ‘सरकार भनेको प्रधानमन्त्री हो । तर प्रधानमन्त्रीमा आत्मविश्वास नभएको, कताकता अल्मलिएको पाएको छु, नयाँ सरकारले जनतामा उत्साह दिनुपर्ने हो तर निराशा मात्रै दिइरहेको छ ।’

चैत्र २२
चैत्र २२ गते पनि गगनले सरकारको आलोचना गर्न भ्याए । नेपाल वित्तीय संस्था कर्मचारी संघको कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री र मन्त्रीहरूलाई फोटो समेत खिच्न नभ्याउने गरी काम गर्नुपर्ने सुझाव दिएका थिए । उनले भनेका थिए– ‘मलाई त आजभोलि प्रधानमन्त्री, मन्त्रीको समाचार आयो कि अन्यथा होइन, रिस उठ्यो त म भन्दिनँ । तर, एकदम नरमाइलो लाग्छ । प्रधानमन्त्री र मन्त्रीले अहिले फोटो पनि खिच्नुपर्दैन, काम मात्रै गर्नुपर्छ ।’

चैत्र ९
त्यस्तै चैत्र ९ गते उनले सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै देशमा तन्नेरी पुस्ता सबैभन्दा धेरै आत्तिएको बताएका थिए । उनले भनेका थिए– ‘मैले यति धेरै तन्नेरीहरू आत्तिएको कहिल्यै पनि देखेको थिएन । हाम्रो देशमा आज तन्नेरीहरू कोही पनि देशमै राम्रो हुन्छ भनेर विश्वास गर्न सकिरहेको छैन, सबै भाग्न मात्रै चाहन्छन् ।’

यी त उनका भाषणबाजीको केही उदाहरण मात्रै हो । गगनले जहाँ सम्बोधन गर्छन्, त्यहाँ सरकारको आलोचना गर्न भुल्दैनन् । सदय, गगनले यो सरकारमा म आफै पनि सामेल छु भन्ने भुलेका हुनुपर्छ ।

आफू सम्मिलित सरकारको आलोचना गर्न पाइँदैन कदापी भन्न खोजेको होइन । तर, आफ्नै कारणले सरकार अपूर्ण भएको र सरकारको काम प्रभावकारी हुन नसकेको भन्ने चाहिँ गगनले भुल्नु हुँदैन । गठबन्धन सरकारलाई सफल बनाउने जिम्मेवारी गगनकाे पनि हो ।

नेपालीमा एउटा उखान छ– ‘आफ्नो आङको भैँसी नदेख्ने, अरुको आङका जुम्रा देख्ने ।’ अहिले उक्त उखान गगनसँग ठ्याक्कै मेल खान्छ । किन कि उनी आफ्नो कमजोरीलाई छपक्क छोपेर सस्तो लोकप्रियताका लागि भाषणबाजीमा उत्रिरहेका छन् ।

आफ्ना कमजोरीको चाङ नदेख्ने गगन आफैँ सम्मिलित सरकारको खोट औँल्याउन जोडतोडले लागिपरेका छन् । सरकारप्रति बारम्बार प्रश्न उठाउने गगनले आफू पनि सोही गठबन्धन सरकारको मुख्य हिस्सेदार भन्ने भुलेका छन् । गगनले प्रचण्ड सरकारलाई असफल हुने छुट छैन भन्दै भाषण गरिरहँदा उनकै कारणले मन्त्रिपरिषद् पूर्ण हुन नसकेको कुरालाई ढाकछोप गरिरहेका छन् ।

कांग्रेस गठबन्धन र सत्ता राजनीतिमा पोख्त दल हो । सत्ताको नेतृत्व आफूसँग नहुँदा सरकारलाई सहयोग नगर्ने राजनीतिक दलको पुरानै परिपाटी हो । पछिल्लो समय प्रचण्ड सरकारलाई असफल बनाउने रणनीति कांग्रेसभित्र देखिएको त होइन भन्ने प्रश्न उठ्न थालेको छ । कांग्रेसमा देखिएको अलमलको भित्री कारण प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्नु त होइन भनेर शंका गर्न थालिएको छ ।

सरकारको आलोचना गर्ने छुट गगनलाई छ । तर, सबैभन्दा बढी मन्त्रालय पाएको पार्टी महामन्त्री भएकाले गैह्रजिम्मेवार हुने छुट भने छैन । मुलुकमा तीब्र आर्थिक राजनीतिक सुधारको आवश्यकताका बिच कांग्रेस आफैँ सम्मिलित सरकारको वाधक बन्नु जनता र कांग्रेसकाे लागि शुभ हुनै सक्दैन । प्रचण्ड सरकारलाई असफल देखाउन खोज्दा आफू नेतृत्वको गठबन्धन असफल हुनेतर्फ गगन र कांग्रेसले सोच्नु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्