
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ ।
मंगलबार धनगढीमा सम्पन्न मानसखण्ड सम्मेलनमा सहभागी हुन नेपाल आएका उनले मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
सुदूरपश्चिमबाट काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि भेटघाट गरेका थिए ।
सत्ता पक्षीय नेताहरूसँग भेटघाट गरेपछि उनी प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेका थिए ।
उनले मंगलबार अन्तिम राजनीतिक भेटका रूपमा काठमाडौंमा पूर्वप्रधानमन्त्री ओलीसँग भेट भएको ट्विटरमार्फत जानकारी दिएका छन् । उनले ओलीसँग नेपालको घतलाग्दा गहिरो राजनीतिलगायतको विषयमा छलफल भएको बताएका छन् ।











