
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।
मंगलबार अचानक बेहोस भएर शिक्षण अस्पताल भर्ना भएका उनको स्वास्थ्यमा अपेक्षित सुधार नभएपछि केहीबेर अघि श्री एयरलाइन्समार्फत् भारतको नयाँ दिल्ली लगिएको हो ।
नयाँ दिल्लीको एम्स हस्पिटलमा राष्ट्रपतिको उपचार हुने शीतल निवासले जनाएको छ । राष्ट्रपति पौडेललाई विदाई गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि ६ दिन अघि मात्र महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । सोमबार पनि फलोअपका लागि राष्ट्रपति पौडेल अस्पताल पुगेका थिए । तर, स्वास्थ्य समस्या बढेपछि उनलाई मंगलबार फेरि अस्पताल भर्ना गरिएको थियो ।











