Logo
Logo

ओली र रविप्रति घनश्यामको कटाक्ष- सबैभन्दा फन्टुसहरू नेता भए 


5.4k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ‘यदुवंशी मुसल’को संज्ञा दिएका छन् । 

आज (बुधबार) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन उनले सो आरोप लगाएका हुन् । नेता भुसालले ओलीकै कारण वामपन्थी कम्युनिष्टमा मुसल पैदा भएको बताए । 

उनले ओली प्रवृत्तिमा आफूलाई फाइदा हुने सिद्धान्त, आफू विचार र आफ्ना समर्थक मात्रै असल, अरु सबै शत्रु हुन् भन्नेकुरा हाबी भएको बताए । राम्रो पार्टी र राजनीति बिगार्ने काम ओलीले संसद् विघटन गरेबाट शुरु भएको आरोप लगाए । 

उनले भने– ‘दुर्भाग्यले हामीले बनाएको धेरै राम्रो पार्टीभित्र एउटा यदुवंशी मुसल जन्मियो । त्यो ओलीवादको मुसल थियो । ओलीवाद भनेर मैले व्यक्तिको कुरा गरेको होइन, त्यो एउटा प्रवृत्तिका रुपमा हुर्कियो । यसमा विचार भनेको म हो । मेरो हो, मेरा हुन् । ओलीवाद र ओली प्रवृत्तिको सिद्धान्त मलाई जे गर्दा फाइदा हुन्छ त्यही हो ।’

भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै उनले वैकल्पिक राजनीतिको नाममा ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा नेता बनेर हिँडेको टिप्पणी गरे । उनले भने, ‘ओलीकै कारण भएको राम्रो पार्टी र राजनीतिक बिगार्न संसद् विघटनबाट शुरु भयो । यो दुर्दशाको कारण यही प्रवृत्ति हो । यसले गर्दा राष्ट्रिय राजनीतिमा समस्या देखिएका छन् । नयाँ राजनीति वैकल्पिक राजनीतिको नाममा आज ओली प्रवृत्तिका मानसपुत्रहरू सडकमा छन् । 

ओलीमा म र मेरो फाइदा सिद्धान्त हो, मेरा समर्थक मात्रै असल अरु सबै शत्रु हुन् भन्ने भइसकेपछि वामपन्थीभित्र यदुवंशी मुसल तयार भएको उनको जिकिर थियो ।

उनले भने, ‘जब अनुशासनहीनताको, मूल्यहीनताको फन्टुसबीच झगडा हुँदा र प्रतिष्पर्धा हुँदा सबैभन्दा फन्टुसले जित्छ । आज त्यही भइरहेको छ, सडकमा सबैभन्दा फन्टुसहरु नेता भएर हिँडेका छन् । यो राष्ट्रिय जीवन सङ्कटको डरलाग्दो भुमरीनजिक छ ।’

प्रतिक्रिया दिनुहोस्