
काठमाडौं । उच्च अदालत तुलसीपुरले पाल्पा दरबार क्षेत्रका संरचना भत्काउने कार्य रोक्न आदेश जारी गरेको छ ।
दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने योजनाका साथ अगाडि बढाएको संरचना भत्काउने कार्य रोक्न निवेदन परेपछि उच्च अदालतले तत्कालका लागि संरचना भत्काउने काम नगर्न आदेश जारी गरेको हो ।
तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले उच्च अदालतले म्याद तामेल भई छलफलका लागि बोलाएकोले दरबार क्षेत्र भत्काउने कार्य तत्कालका लागि स्थगित गरिएको जानकारी दिए ।
पाल्पा दरबार संग्रहालय परिसरमा तानसेन नगरपालिकाले निर्माण गरेका १२ वटा, घरेलु शिल्पकला बिक्री भण्डार कक्षका १३, रेडक्रस सोसाइटी पाल्पा शाखाका तीन, नेपाल बाल संगठनको एक, कर्मचारी मिलन केन्द्रका तीनवटा घर टहरा रहेका छन् ।











