Logo
Logo

राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र बिक्री गर्ने


1.3k
Shares

काठमाडौं । राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि विकास ऋणपत्र मार्फत २० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो ।

‘विकास ऋणपत्र ०८४ ‘ट’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि चार वर्ष छ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने छ ।

राष्ट्र बैंकको सूचनामा ऋणपत्रका लागि आज (वैशाख ७ गते) दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिने उल्लेख छ । तालिका अनुसार शुक्रबार राष्ट्र बैंकले ऋणपत्र जारी गर्नेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।

यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी हुने छ । सरकारले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (माघदेखि चैतसम्म)मा ८८ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ । यो आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको सरकारले तेस्रो त्रैमासमा थप ८८ अर्ब रुपैयाँ उठाएको हो ।

सरकारले चालु आर्थिक वर्षमा २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य तय गरेको छ । उक्त लक्ष्यलाई तीन चरणमा गरेर उठाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्