काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका छन् । पटकपटक कार्यापालिका बैठक बहिष्कार गरेपछि मेयर साम्पाङले वडाध्यक्षहरूको राजीनामा मागेका हुन् ।

मेयर सम्पाङले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ– ‘कसैले म बैठक बस्दिन भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रसस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ ।’
वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको भन्दै मेयर साम्पाङले वडाहरुमा के कस्ता, के कति काम भएका छन तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।












