काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २२ वर्ष पूरा गरेर २३ वर्षमा प्रवेश गरेको अवसरमा ‘क्यासव्याक अफर’ ल्याएको छ । यस अफर अन्तर्गत बैशाख महिनाभरि बीमा शुल्कको नविकरण ई–सेवामार्फत भुक्तानी गर्नेे ग्राहकले ५ प्रतिशत वा २३० रुपैयाँसम्म ‘क्यासब्याक’ प्राप्त गर्नेछन् ।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउँदै गर्दा सूचना प्रविधिको विकाशक्रमसँग आफ्ना ग्राहक तथा अभिकर्तालाई साक्षात्कार गराउने अभिप्रायका साथ यो अफर संचालनमा ल्याइएको कम्पनीले जनाएको छ ।
प्रविधिको अधिकतम प्रयोग गर्दै कार्यसम्पादन गर्न अब्बल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमाशुल्क नविकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई–सेवा, खल्ती, फोन–पे, कनेक्ट आइ.पी.एस, आई एम ई–पे र प्रभु–पेसँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकले घरैमा बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सक्नेछन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घरबाटै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथै कारोबार सुरक्षित हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधिमैत्री बनाई ग्राहकलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेको पराजुलीले बताए ।
२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह–अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएका छन् ।
ग्राहकको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।











