Logo
Logo

सुडानमा दुई प्रतिद्वन्द्वी सेनाबीच लडाइँ जारी, तीन सय बढीको मृत्यु


एजेन्सी


खार्तुम । सुडानको राजधानी खार्तुममा बिहीबार रमजानको अन्त्यको उपलक्ष्यमा मनाइने उत्सवअघि दुई प्रतिद्वन्द्वी जनरलका सेनाबीच भएको भिडन्त कम हुने संकेत देखिएको छैन । विस्फोट र गोली चलेको आवाज सुनिएको छ ।

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र अर्धसैनिक -यापिड सपोर्ट फोर्सेज (आरएसएफ)को नेतृत्व गर्दै आएका मोहम्मद हमदान डग्लोप्रति वफादार सेनाबीच शनिबार भएको झडप र त्यसपछिका आक्रमण र प्रत्याक्रमणमा तीन सयभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

करिब ५० लाख मानिसको बसोबास रहेको राजधानी खार्तूममा केही भीषण युद्धहरू भएका छन् जसका कारण अधिकांश मानिस बिजुली, खाना र पानीबिना नै आ–आफ्नो घरभित्र रहन बाध्य पारिएका छन् ।

दक्षिणी खार्तुमका ३८ वर्षीय नाजेक अब्दाल्लाले भने, ‘लडाकू विमान र अन्य हवाई तथा स्थल आक्रमणका कारण हामी आज बिहान पनि ४ः३० बजे ब्यूँझेका थियौँ । हाम्रो भवनमा गोली नलागोस् भनेर हामीले ढोका र झ्यालमा ताल्चा लगायौँ ।’

राजधानीको खार्तुम अन्तर्राष्ट्रिय विमानस्थल र सेनाको मुख्यालय वरपरका भवनहरूबाट बाक्लो कालो धुवाँको मुस्लो उठेको र गोली चलेको आवाज सुनिएको र युद्धविराम भएको छैटौँ दिन पनि झडप भएको अधिकारीहरूले बताएका छन् ।

डार्फरमा वर्षौंदेखि चरम हिंसाको नेतृत्व गरेको जन्जावीद लडाकु समूहका सदस्यहरूबाट गठित शक्तिशाली बल आरएसएफले बुधबार साँझदेखि सेनाले जस्तै २४ घण्टाका लागि पूर्ण युद्धविरामका लागि पूर्ण रूपमा प्रतिबद्ध रहने बताएको थियो ।

तर, प्रत्यक्षदर्शीका अनुसार खार्तूममा गोली चल्न नरोकिएकोले दोस्रो पटक युद्धविराम सुरु भएको केही मिनेटमै अर्को युद्धविराम उल्लंघन भएको थियो । खार्तुमबाहेक उत्तरी कोर्डोफान राज्यको ओबेद सहरमा पनि ठूलो विस्फोट भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्