
काठमाडौं । काठमाडौं महानगरपालिकाले सीसीटीभी जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी बाचा अनुसार चोक चोकमा (सीसीटीभी) जडान गर्न नेपाल प्रहरीलाई उक्त रकम उपलब्ध गराइएको जानकारी दिएका हुन् ।
उनले भनेका छन्, ‘चुनाब पहिले मैले भनेको थिए चोक चोकमा (सीसीटीभी) हाल्नेछु , यस्को सुरुवात हामीले यसको जडान र सञ्चालनको लागि नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराएको छौँ ।’
साथै उनले सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरले नेपाल प्रहरीलाई उक्त रकम उपलब्ध गराउन लागेको बताएका छन् ।
‘सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आवद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउन लागेको हौं । यो सुरुवात मात्र हो । हामी भविष्यमा अझै धेरै सहकार्य गर्नेछौँ,’ मेयर शाहले लेखेका छन् ।











