Logo
Logo
कला

‘गीत सुन्नेवित्तिकै नाचौँ नाचौँ लाग्थ्यो’



सानैदेखि नाच्न भनेपछि हुरुक्कै हुन्थिन्, बबिता नेयोङहाङ । तर, फिल्मको हिरोइन बन्छु भनेर कहिल्यै सोचिनन् । लिम्बू संस्कृतिमा आधारित फिल्म ‘सुगुत्’की मुख्य अभिनेत्री बबिताले विगत सम्झिँदै भनिन्, ‘सानोमा गीत सुन्नेवित्तिकै नाचिहाल्थेँ । जानीनजानी पनि नाच्नै पर्ने । तर, त्यो बेला मोडलिङ र फिल्म क्षेत्रमा लाग्छु भन्ने त सोचेकै थिइनँ ।’

पुर्खौली ताप्लेजुङकी भएपनि मोरङ पथरीमा हुर्केकी बबिताले दर्जनौँ म्युजिक भिडियोका आलवा केही फिल्ममा अभिनय गरिसकेकी छन् । उनी अभिनीत पछिल्लो फिल्म ‘सुगुत्’ हाल पोष्ट प्रोडक्शनमा रहेको छ । साथै, उनी म्युजिक भिडियोहरु पनि गर्दै आएकी छन् । उर्लाबारीस्थित ‘बिहानी कला केन्द्र’मा एक वर्ष नृत्य प्रशिक्षण लिएकी बबिता भन्छिन्, ‘आफूलाई नृत्यमा निर्खानलाई प्रशिक्षण लिएकी हुँ । त्यो बेलासम्म पनि मेरो हिरोइन हुने इच्छा थिएन ।’ ‘सुगुत्’अघि लिम्बू भाषाको ‘माराम’, ‘फेक फ्रेण्ड’ र ‘पायल’जस्ता नेपाली फिल्ममा अभिनय गरेकी अभिनेत्री तथा मोडल बबिता नेयोङहाङसँग एमपी सुब्बाको जम्काभेट :

हिजोआज के गर्दै हुनुहुन्छ ?
अहिले त खाशै केही गरेकी छैन । अलिअलि म्युजिक भिडियोहरु गर्दैछु । भर्खरै फिल्म ‘सुगुत्’को सुटिङ सकिएको छ । यो फिल्मको अहिले सम्पादन कार्य भइरहेको छ ।

‘सुगुत्’ तपाइँको पहिलो फिल्म हो ?
होइन, यसअघि पनि फिल्महरु गरेकी छु । मैले पहिलो पटक काम गरेको फिल्म ‘माराम’ हो, जुन फिल्म लिम्बू भाषामा थियो । त्यसपछि मैले ‘फेक फ्रेण्ड’ र ‘पायल’मा अभिनय गरेँ । ‘पायल’ रिलिज हुन बाँकी नै छ ।

फिल्म क्षेत्रमा प्रवेश गर्ने इच्छा कसरी जाग्यो ?
फिल्म क्षेत्रमा लाग्ने मेरो सोच र इच्छा नै थिएन । नृत्यमा चाहिँ मेरो सानोदेखि रुची थियो । आठ वर्षको हुँदैदेखि स्कुलमा हुने कार्यक्रम र प्रतियोगिताहरुमा नृत्य गर्थे । तर, नृत्य गर्दागर्दै म्युजिक भिडियोमा प्रस्ताव आउन थाल्यो । म्युजिक भिडियोमा मोडलिङ गर्न थालेपछि फिल्म गर्न थालेकी हुँ ।

सानैमा नृत्यप्रति कसरी आकर्षित हुनुभयो ?
नृत्यमा कसरी आकर्षित भएँ भन्ने मलाई नै थाहा छैन । तर, सानो हुँदा गीत सुन्नेवित्तिकै नाचौँ नाचौँ लागिहाल्थ्यो । स्कुल पढ्दा पनि मेरो मनमा नृत्यबारे सोचिरहन्थेँ । त्यसैले नृत्य प्रतियोगिताहरुमा भाग लिन थालेँ । मैले स्थानीय स्तरका दर्जनौँ नृत्य प्रतियोगिताहरुमा प्रथम भएकी छु ।

अहिलेसम्म कति वटा म्युजिक भिडियोमा मोडलिङ गर्नुभयो ?
म्युजिक भिडियो त थुप्रै गरिसकेकी छु । नेपाली गीतका आलवा लिम्बू पालामहरु पनि मोडलिङ गर्दै आएकी छ्ु । आधा दर्जनभन्दा बढी पालामै मोडलिङ गरेकी छु ।

‘सुगुत्’ फिल्ममा चाहिँ कसरी जोडिनुभयो ?
फिल्म ‘सुगुत्’को निर्देशक लोकेन साँवा हुनुहुन्छ । उहाँसँग मेरो पुरानो चिनजान थियो । उहाँले नै लिम्बू कल्चरमा फिल्म बनाउँदैछु, काम गर्नुपर्छ है भन्नुभयो । त्यसपछि ‘सुगुत्’मा जोडिएकी हुँ ।

‘सुगुत्’मा तपाइँको भूमिका के छ ?
उक्त फिल्ममा ‘फूङ्सा’ नामकी युवतीको भूमिका गरेकी छु । ‘सुगुत्’को म मुख्य पात्र हुँ । पूर्वी पहाडी जिल्लाको कथा हो सुगुत् । जुन लिम्बू संस्कृतिमा आधारित छ ।

‘सुगुत्’ भनेको के हो ?
सुगुतु भनेको अकालमा मृत्यु भनेजस्तै हो । फिल्ममा दुई कुटुम्बेरी परिवारमा सिर्जित बेमेलका कारण एक निर्दोष महिलाले अकालमा ज्यान गुमाएको हुन्छ । यो नारी प्रधान फिल्म हो ।

‘सुगुत्’बाट कतिको आशावादी हुनुहुन्छ ?
मैले सकेसम्म मिहिनेत गरेकी छु । आफ्नो भूमिकालाई न्याय दिने सक्दो प्रयास पनि गरेकी छु । कथावस्तु पनि राम्रो छ । त्यसैले दर्शकले रुचाउँछन् भन्ने मेरो अपेक्षा छ ।

तपाइँलाई फिल्म क्षेत्र कस्तो लागिरहेको छ ?
–फिल्म क्षेत्र बाहिरबाट देख्दा÷हेर्दा र आफूले मिहिनेत गर्नुमा धेरै फरक रहेछ । बाहिरबाट हेर्दा हिरोइन बन्नु सजिलो देखिन्छ । तर, मिहिनेत र संघर्ष गर्न गाह्रो रहेछ । खाशगरी फिल्म क्षेत्रमा स्थापित हुनका लागि धेरै मिहिनेत गर्नुपर्छ । तैपनि यो क्षेत्र रमाइलो नै छ ।

तपाइँको रुची र उद्देश्य के हो ?
कल्चरल फिल्मका आलवा विग व्यानरका काम गर्ने मेरो इच्छा छ । साथै, निकट भविष्यमै फिल्म निर्माण गर्ने सोच बनाएकी छु ।
कस्तो विषयवस्तुमा फिल्म निार्मण गर्ने सोच बनाउनुभएको छ ?
मैले बनाउने फिल्म कल्चरल नै हुनेछ किनकि पछिल्लो समय कल्चरल फिल्महरु नै व्यवसायीरुपमा सफल पनि भएका छन् । कल्चरल र नारीप्रधान फिल्म बनाउने मेरो सोच हो ।

अहिलेसम्म सिंगल नै हुनुहुन्छ, साइत नजुरेर हो ?
साइतभन्दा पनि परिस्थितिले नजुराएर हो । जोडी हुनका लागि समय र परिस्थिति आउनुपर्ने रहेछ ।

सिंगल हुनुहुन्छ । प्रेम प्रेम र विवाहका लागि प्रस्ताव कतिको आउँछ ?
प्रेम प्रस्ताव आइरकेको हुन्छ, पहिले पनि आएकै हो । तर, फिल्म क्षेत्रमै केही गर्ने सोच बनाएकी छु । त्यसैले प्रस्तावलाई स्वीकारेकी छैन ।

अन्त्यमा ‘सुगुत्’ कहिलेसम्ममा दर्शकमाझ आउँछ ?
निर्माता र निर्देशकले भनेअनुसार आउँदो साउन अन्तिममा रिलिज हुनेछ । अहिले त्यहीअनुसार काम पनि भइरहेको छ । पक्कै आउँछ होला ।

प्रतिक्रिया दिनुहोस्