Logo
Logo

आन्दोलनकारीमाथि ८१ राउन्ड अश्रुग्याँस, पेट्रोल बम प्रहार भएको प्रहरीको दाबी

प्रहरीसहित ९ जना घाइते


1.8k
Shares

काठमाडौं । शहीद पदम लिम्बू ‘लाजेहाङ’को शव र्यालीको क्रममा झडप हुँदा विराटनगर तनावग्रस्त बन्यो । त्यस क्रममा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा पहिचान पक्षधरका ६ जना आन्दोलनकारी र तीन जना प्रहरी समेत घाइते भएका छन् ।

झडपका क्रममा प्रहरीले ८१ राउन्ड अश्रुग्याँस प्रहार गरेको छ भने रबरको गोली समेत हानेको छ । पहिचान पक्षधरले निषेधाज्ञा तोड्ने क्रममा झडप भएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलको भनाई छ । झडप सुरु हुनुअगाडि आन्दोलनकारीका तर्फबाट पेट्रोल बम प्रहार गरेको एसपी पोखरेलको दाबी छ ।

घाइते हुनेहरुमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, किरात राई यायोक्खाका उपाध्यक्ष देवान राई, बिराटनगर महानगरपालिका सदस्य चन्द्र कुमार राई, सुनसरी इटहरी-२ का डेनिस राई, दया राई, शिबसतासी-८, सन्त कुमार शेर्मा, राजकुमार शेर्मा लगायत छन । अहिले उनीहरुको विराटनगरमा उपचार भइरहेको छ । झडप केही साम्य भएपछि अहिले शव र्योली पुनः प्रारम्भ भएको छ ।

यस्तै, आन्दोलनकारीको तर्फ घाइते भएका झापा शिवसताक्षी नगरपालिका ८ का राजकुमार शेर्माको खुट्टामा चोट लागेको छ । आन्दोलनकारीले उनलाई प्रहरीले रबरको गोली हानेको बताएपनि प्रहरीले भने गोली प्रहार नगरेको दाबी गरेको छ । एक जना प्रहरीको टाउकोमा पनि चोट लागेको कारण न्युरो अस्पताल विराटनगरमा उपचारका लागि लगिएको छ ।

कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भइ मृत्युवरण गर्न पुगेका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको थियो । पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको वृहत प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो ।

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो । त्यसपछि प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने लगायतका माग गरेका थिए । त्यसलाई संघीय सरकारले लाजेहाङलाई सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

यद्यपि संघर्ष समितिले भने प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताउँदै आएका थिए । तर, विभिन्न पक्षको छलफलपछि भने एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न पहिचान पक्षधरहरु सहमत भएका हुन् । लाजेहाङको शव बिपी प्रतिष्ठान धरानको शव गृहमै रहेको थियो । लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा परिक्रमा गराउने प्रदेश १ पुनः नामङ्कन संयुक्त संघर्ष समितिको कार्यक्रम थियो । सोही क्रममा विरानटनगरमा आज झडप भएको हो । अहिले लाजेहाजङको शव र्याली गर्दै विराटनगरबाट बेलबारी लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्